एसपी रिपोर्टर
सिरहा,साउन २६
: सिरहा जिल्ला अदालतले आर्थिक वर्ष २०८१-८२ मा कार्यसम्पादनमा उल्लेखनीय सुधार गर्दै कुल ६२ दशमलव २३ प्रतिशत मुद्दा फछर्यौट गर्न सफल भएको छ ।

अदालतद्वारा सार्वजनिक वार्षिक प्रगति विवरणअनुसार सो अवधिमा जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका कुल नौ हजार १९१ मुद्दामध्ये पाँच हजार ७२० मुद्दा फक्र्यो भएका छन्भने तीन हजार ४७१ मुद्दा अझै बाँकी छन् ।मुख्य न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीका अनुसार, जिम्मेवारी सरेर आएका चार हजार ११२ मुद्दामध्ये तीन हजार ११० र नयाँ दर्ता भएका चार हजार ९७९ मुद्दामध्ये दुई हजार ४१० फछर्यौट गरिएको हो । उनका अनुसार अघिल्ला आर्थिक वर्ष २०८०-८१ मा अदालतले ५० दशमलव ८६ प्रतिशत र २०७९-८० मा ४८ दशमलव दुई प्रतिशत मुद्दा फछर्यौट गरेको थियो ।‘वर्षौं पुराना मुद्दा फछर्यौट गर्न सफल भएपछि कार्यप्रगतिमा स्पष्ट सुधार देखिएको छ,’ न्यायाधीश उप्रेतीले भने, ‘काठमाडौँपछि कार्यप्रगतिमा दोस्रो कमजोर स्थानमा रहेको सिरहा अदालतको अवस्था अब उल्लेखनीय रूपमा सुधारिएको छ ।’उक्त सुधारका पछाडि अदालतका कर्मचारीहरूको लगनशीलता, जिल्ला बारको निरन्तर सहयोग, स्वचालित पेसी प्रणाली, फरक मुद्दा व्यवस्थापन, अभिलेख मिसिल ‘स्क्यानिङ’ र समूहगत कार्यशैली प्रमुख कारण रहेको उनले बताए।