एसपी रिपोर्टर
काठमाणडौँ,साउन २५
:जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आतङ्कवाद समाप्त पार्न भारतले अगुवाइ गर्नुपर्ने बताएका छन् ।

उनले सार्कजस्तो क्षेत्रीय सङ्गठन आवश्यक रहेको र यसको पुनर्जीवनका लागि भारतले अगुवाइ गर्नुपर्नेमा जोड दिएका हुन् ।नेपाल भारत विकास मञ्चले आइतबार आयोजना गरेको ‘दक्षिण एसियामा आतङ्कवादको अवस्था र दीर्घकालीन समाधान’ विषयक विचार गोष्ठीमा आइतबार बोल्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका यादवले आतङ्कवादलाई कुनै पनि वादसँग जोडेर हेर्न नहुने बताएका हुन् ।आतङ्कवाद राष्ट्रवाद, धर्म वा पृथकतावादी आन्दोलनका नाममा जन्मिए पनि यसको स्वरूप सदैव अमानवीय र मानव विरोधी भएको अध्यक्ष यादवले बताए ।“दक्षिण एसियामा कुनै पनि देश आतङ्कवादबाट अछुतो छैन, तर पाकिस्तान र अफगानिस्तानमा यसको प्रभाव धेरै छ। भुटान, भारत र बङ्गलादेशमा पनि यसको गतिविधि देखिन्छ,” उनले भने ।

यादवले आतङ्कवादकै कारण सार्क सङ्गठन निष्क्रिय जस्तो अवस्थामा पुगेको बताए। आतङ्कवादले पाकिस्तान र अफगानिस्तानमा गरिबी र बेरोजगारी बढाएको उनले बताए ।