एसपी रिपोर्टर
काठमाणडौँ,साउन २३ : राष्ट्रियसभाको आजको बैठकमा जलस्रोत विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस भएको छ ।विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले सो प्रतिवेदन सभामा पेस गरेका हुन् । जलस्रोतको संरक्षण र बहुआयामिक प्रयोगका सम्बन्धमा सो विधेयकमा व्यवस्था गरिएको छ ।यस्तै, बैठकमा कार्यवाहक प्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले ‘महालेखा परीक्षकको ६२ औँ वार्षिक प्रतिवेदन’सभा समक्ष पेस गरेका हुन् ।त्यस्तै, सभाध्यक्षसमेत रहेका राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराए भने विषयगत समितिमा रहने सदस्यको नाम हेरफेर तथा मनोनयन गरेका छन् ।





