एसपी रिपोर्टर
विराटनगर,साउन २२
: निर्माण सुरु भएको ६ वर्षसम्म आधा पनि काम नभएपछि हुलाकी राजमार्गअन्तर्गत मोरङको कटहरी खण्डमा स्थानीयले धान रोपेका छन् ।

बिहीबार कटहरी गाउँपालिका-३ का स्थानीयले सडकमा सवारी आवागमन रोकेर सडकको हिलोमा धान रोपेका हुन् । विरोधमा स्थानीयले करिब एक घण्टा चक्काजामसमेत गरेका थिए ।राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको मोरङ खण्डमा ४४ किलोमिटर पर्छ । त्यसमध्ये हाटखोलादेखि रामचोकसम्म ६ किलोमिटर काम अतिसुस्त गतिमा छ । अन्य क्षेत्रको काम लगभग पूरा भएको छ ।२०७६ सालमा श्रेष्ठ कन्ट्रक्सन कम्पनी प्राली काठमाडौंले ठेक्का लिएको यो सडकको काम असारसम्म जम्मा २२ प्रतिशत मात्रै प्रगति छ । पानी पर्दा हिलोका कारण हिँड्न नसकिने यो सडक घाम लाग्दा धुलोका कारण हिँड्न नसकिने स्थानीय दिलिप शर्मा बताउँछन् ।अलपत्र अवस्थामा रहेको हुलाकी सडकको काम अघि बढाउन मोरङका जनप्रतिनिधिले तीन वर्षअघिदेखि पहल गरेका थिए । एकसाता अघि मोरङ-४ का सांसद अमनलाल मोदीले तत्काल काम अगाडि बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।हुलाकी सडकको ६ किलोमिटर खण्डको मुख्य ठेकेदार श्रेष्ठ कन्ट्रक्सन कम्पनी प्रालि भए पनि निर्माण क्षेत्रमा मुख्य ठेकेदार देखिएका छैनन् । सुरुमा भुपाल श्रेष्ठले पेटी ठेकेदारको रूपमा काम गरेका थिए । श्रेष्ठ पनि भागेपछि उनको ठाउँमा अभिषेक गिरी आएका छन् ।६ वर्षको अवधिमा ठेकेदारले साइड ड्रेन निर्माणको काम पूरा गरेका छैनन् । बिजुलीको पोल पनि सारिएको छैन । बर्खापछि बिजुलीको पोल सारेर माटो फिलिङ गर्ने तयारी छ ।हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार हुलाकी सडकको यो खण्डको ठेक्कार २०७६ सालमा ७७ करोड रुपैयाँमा ठेक्का लागेको थियो ।

दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सडकको पटकपटक म्याद थप भएको छ । फेरि म्याद थप गर्ने तयारी छ ।