एसपी रिपोर्टर
काठमाडौँ,साउन २२
: पाकिस्तान प्रशासित कश्मीरमा सयौँ मानिसले भारतले विवादित क्षेत्रको अर्धस्वायत्त दर्जा खारेज गरेको छैटौँ वार्षिकोत्सव मनाउँदै र्‍याली निकालेका छन् ।

यो र्‍याली भारत र पाकिस्तानबीच करिब तीन महिनाअघि भारतीय कश्मीरमा २६ पर्यटकको हत्यापछिको सैन्य कारबाहीको पृष्ठभूमिमा आयोजना गरिएको हो । र्‍यालीमा भारतविरोधी नारा लगाइएको थियो ।नयाँ दिल्लीले उक्त हमलामा इस्लामाबादलाई दोषी ठहर गरेको थियो । पाकिस्तानले आरोप अस्वीकार गरेको थियो ।प्रदर्शनकारीले सन् २०१९ अगस्ट ५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा कश्मीरको विशेष राज्यको दर्जा खारेज घटनाको निन्दा गरेका थिए । कश्मीर राज्यको दर्जा पुनर्स्थापना गर्न उनीहरूले माग गरे ।कश्मीर भारत र पाकिस्तानबीच विभाजित छ । दुवै देशले यसमाथि पूर्ण दाबी गर्दै आएका छन् ।सन् १९४७ मा यी दुई देशले बेलायतबाट स्वतन्त्रता प्राप्त गरेपछि कश्मीर परमाणु हतियारसम्पन्न छिमेकीबीच युद्धको कारण बनेको थियो ।मंगलबार पाकिस्तान प्रशासित कश्मीरको राजधानी मुजफ्फराबादमा आयोजित विरोध प्रदर्शनमा नागरिक समाज र राजनीतिक दलका सयौँ सदस्य सहभागी भएका थिए ।इस्लामाबादमा पनि भारतविरोधी यस्तै प्रदर्शन आयोजना गरिएको थियो ।

यसैबीच, भारतीय कश्मीरको श्रीनगरमा प्रमुख विपक्षी दल इन्डियन नेसनल कंग्रेस पार्टी समर्थकले पनि विवादित क्षेत्रको राज्यको दर्जा पुनर्स्थापना गर्न माग गर्दै र्‍याली निकालेका छन् । एपीबाट ।