एसपी रिपोर्टर
चन्द्रपुर ,साउन १९
: रौतहटमा करेन्ट लागेर आइतवार राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इशनाथ नगरपालिका –८ मंसरी टोल बस्ने ५५ बर्षीय शेख जफिर रहेको वडा ८ का वडा अध्यक्ष शेख खुसबुदीनले जानकारी दिनुभयो ।

धान रोप्नका लागि विद्युतीय मोटरको प्रयोगले खेतमा पानी हालेपछि बिद्युत मिटरको तार पोलबाट निकाल्ने क्रममा करेन्ट लागेर जफिरको मृत्यु भएको वडा अध्यक्ष खुसबुदीनले बताउनुभयो ।स्थानीय महम्मद मोजिबुल्लाहका अनुसार बिद्युत प्राधिकरणको लापरवाहीले किसानको करेन्ट लागेर मृत्यु हुने गरेकाले यसप्रति सम्बन्धित निकाय ध्यान दिन जरुरी रहेको बताउनुभयो ।जिल्ला प्रशासन कार्यालयले सिँचाइ प्रयोजनको लागि बिद्युत मिटर प्रयोग गर्दा बिद्युत प्राधिकरणसँग समन्वय गर्न सूचना जारी गरे पनि बिद्युत प्राधिकरण यस सम्बन्धमा चासो नलिएको स्थानीयको गुनासो छ ।