एसपी रिपोर्टर
पश्चिम नवलपरासी ,साउन १९
: उखु बालीमा सरकारले दिँदै आएको अनुदान रकममा कटौती गरेपछि तराई—मधेशका १३ जिल्लाका उखु किसानहरू आन्दोलित भएका छन् ।

आर्थिक वर्ष २०८१/०८२ को उखु क्रसिङबापतको अनुदान रकम पुरानै दरमा उपलब्ध गराउनुपर्ने माग गर्दै उनीहरूले चरणबद्ध आन्दोलन थालेका हुन् ।नेपाल उखु उत्पादक महासंघका अनुसार, देशभरका १३ जिल्लाका किसानहरूले चिनी उद्योगमा उपलब्ध गराएको उखुको कुल एक अर्ब ६० करोड रुपियाँ अनुदान रकम सरकारले भुक्तानी गर्न बाँकी छ । यसअघि सरकारले उखुको प्रति क्वीन्टल मूल्य ६५५ रुपियाँ तोकेको थियो । जसमा चिनी उद्योगले ५८५ र सरकारले ७० रुपियाँ अनुदान दिने व्यवस्था थियो । तर बजेट अभाव देखाउँदै सरकारले अनुदान रकम आधा घटाएर प्रति क्वीन्टल ३५ रुपियाँमा झारेको छ । किसानहरूले यो रकम अस्वीकार गर्दै पुरानै ७० रुपियाँ नै कायम गर्न माग गरेका छन् ।आन्दोलनका कार्यक्रमबारे जानकारी दिँदै नेपाल उखु उत्पादक महासंघ, लुम्बिनी प्रदेश समितिका संयोजक उमेशचन्द्र यादवले पहिलो चरणमा १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई मागपत्र बुझाएर ध्यानाकर्षण गराइएको बताउनुभयो । दोस्रो चरणअन्तर्गत साउन २० गते चिनी उद्योग अगाडि टायर बालेर प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । यदि मागहरू पूरा नभए भदौ ८ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना र विरोध कार्यक्रम गर्ने चेतावनीसमेत दिइएको छ ।अनुदान रकम उपलब्ध गराउन थालेपछि उत्साहित भएर उखु खेती विस्तार गरेका किसानहरू पछिल्लो समय रकम कटौती भएपछि पलायन हुने अवस्थामा पुगेको संयोजक यादवले बताउनुभयो ।

पश्चिम नवलपरासीमा मात्रै आर्थिक वर्ष २०८१/०८२ मा २३ लाख ९० हजार क्वीन्टल उखु क्रसिङ भएको थियो । जसबापत किसानहरूले ७० रुपियाँका दरले कुल १६ करोड ७३ लाख अनुदान रकम पाउनुपर्ने माग गरेका छन् ।