एसपी रिपोर्टर
काठमाणडौँ,साउन १३
: बलात्कार आरोपमा पक्राउ परेका मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झाविरुद्ध मुद्दा दायर भएको छ ।

४ साउनमा पक्राउ परेका झालाई प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले आज मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।बलात्कारको कसुरमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद भए पनि अहिराजविरुद्धको मुद्दा भने ९ दिनमै अदालतमा टेकाइएको छ । अन्य सामान्य अभद्र व्यवहारको कसुरमा समेत प्रहरीले २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरे पनि अहिराजको केशमा भने ९ दिनमै मुद्दा अदालतमा टेकेको हो ।अहिराजले एक युवतीलाई बलात्कार गरेको आरोप छ । आफूलाई ४ जेठ २०८१ मा काठमाडौंको नयाँ बानेश्वरस्थित कोठामा अहिराजले बलात्कार गरेको आरोप छ । डेरा कोठामा एक्लै बसेका बेला पूर्व चिनजानका अहिराजले आएर बलात्कार गरेको पीडितको भनाइ छ ।उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २१९ मा उल्लेख बलात्कार गर्न नहुने कसुरमा अनुसन्धान गरिएको थियो । दफा २१९ को उपदफा २ को कसुर गरेको भन्दै खण्ड (ङ) बमोजिमको सजाय मागदाबी गरिएको छ ।(ङ)अनुसार १८ वर्ष वा सोभन्दा माथिको उमेरकी महिलालाई बलात्कार गरेमा सात वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।