एसपी रिपोर्टर
काठमाणडौँ,साउन १३ : अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।
मङ्गलबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विधेयकलाई उच्च प्राथमिकताका साथ समितिमा छलफल गरिरहेको पनि बताए । हवाई सेवा प्राधिकरण र नागरिक उड्डयन प्राधिकरण विधेयक एक अर्कासँग सम्बन्धित रहेकाले उच्च प्राथमिकताका साथ छिटो समितिबाट टुङ्गो लगाउन जरुरी रहेको बताए ।दुई वटै विधेयक एक अर्काका परिपूरक भएको पनि उल्लेख गरे । विधेयकलाई छिटो र प्रभावकारी रूपमा अघि बढाउन समिति क्रियाशील रहेको बताए । समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल भएको हो ।





