एसपी रिपोर्टर
काठमाणडौँ,साउन १३
: जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले डिप बोरिङका लागि लालपुर्जाको प्रावधान हटाउन माग गरेका छन् । संघीय सरकारले डिप बोरिङका लागि किसानसँग लालपुर्जा माग्दा झन्झटिलो हुने देखिएको हुँदा सो प्रावधान हटाउन उनले माग गरेका हुन् ।

उनले आफ्नो सचिवालयको फेसबुकमा लेखेका छन्, ‘कृषि मन्त्रालयका मन्त्रीज्यू, सचिवज्यू, मातहतका कार्यालय प्रमुखज्यूहरू, कृषि ज्ञान केन्द्रका प्रमुखज्यूहरू: लालपुर्जा जम्मा गर्नुपर्ने अनावश्यक दुःख किन ?’डिप बोरिङको लागि भएको झन्झटिलो प्रावधानले योजना आइसके पछि पनि लागू गर्न कठिन रहेको उनले बताए । उनले भनेका छन्, ‘मधेसमा अधिकांशले नागरिकताको प्रतिलिपि दिन त मान्दैनन्, ४०–४० बिघाको लालपुर्जा कहाँबाट जम्मा गर्नु ?’उनले अगाडि भनेका छन्, ‘फेरि एक जनासँग मुस्किलले २–४ कट्ठा जमिन हुन्छ, त्यसो गर्दा त २००–४०० जना जतिबाट समन्वय गरेर, सहमति गरेर, लालपुर्जा जम्मा गर्नु पर्ने हुन्छ जुन सम्भव छैन ।’ यस्तै प्रावधानका कारण यस्ता योजनाहरू सफल हुन नसकेको बताउँदै उनले बिघाका बिघा जमिन हुने ठुला किसान र जमिन्दारहरूले डिप बोरिङ लग्न सके पनि आम किसानले लग्नै नसक्ने दाबी गरेका छन् ।