एसपी रिपोर्टर
जनकपुरधाम,साउन १३
: प्रधानमन्त्री केपी शर्मा ओलीले सुख्खाग्रस्त मधेशका विभिन्न जिल्लामा तत्कालै ५ सय बोरिङ खन्ने घोषणा गरेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जनकपुरधाममा वितरण केन्द्रका प्रमुखहरूसँग विद्युत आपूर्तिका विषयमा छलफल गरेका छन्।

चितवनको विद्युत आपूर्तिको अवस्था अवलोकन गरेर जनकपुरधाम आएका निर्देशक शाक्यले मधेश प्रदेशका सिराहा, धनुषा, महोत्तरी, सप्तरी, सर्लाही लगायत जिल्लाका विद्युत कार्यालय प्रमुखहरूसँग बोरिङका लागि आवश्यक पर्ने विद्युत आपूर्तिबारे विस्तृत छलफल गरेका हुन्।निर्देशक शाक्यका अनुसार सुख्खाग्रस्त क्षेत्रमा सिँचाइका लागि कहाँ–कहाँ बोरिङ जडान गर्ने र त्यहाँ विद्युत आपूर्ति कसरी सुनिश्चित गर्ने भन्ने विषयमा प्राधिकरणले फिल्डमै खटिएर योजना बनाउनेछ।

“अबको एक महिनाभित्रै बोरिङ जडानको काम सम्पन्न गर्ने लक्ष्यसहित हामी लागिपरेका छौं,” शाक्यले भने, “त्यसै अनुरूप वितरण केन्द्रका प्रमुखहरूसँग छलफल गरी कार्ययोजना निर्माण गरिएको हो।”उनले किसानहरूको प्रत्यक्ष समस्या बुझ्न र उपयुक्त स्थान छनोट गर्न पनि निर्देशन दिइसकेको बताए। प्राधिकरणले बोरिङ खन्ने स्थलगत अवलोकनका आधारमा आवश्यक पूर्वाधार तयार पार्ने तयारी गरेको छ।