एसपी रिपोर्टर
जनकपुरधाम,साउन १३
: नेपाल विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारीहरू आफ्ना मागप्रति बेवास्ता भएको भन्दै चरणबद्ध शान्तिपूर्ण आन्दोलनमा उत्रिएका छन्।

आन्दोलन अन्तर्गत मधेस प्रदेशका कर्मचारीहरू जनकपुरधामस्थित प्राधिकरणको मुजेलिया कार्यालयमा कालोपट्टी बाँधेर धर्नामा बसेका छन्।प्राधिकरणको सञ्चालक समितिको बैठकबाट दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई मासिक ज्यालादारीमा रूपान्तरण गर्ने निर्णय भएको लामो समय बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी कर्मचारी मधेस प्रदेश संघर्ष समितिका अध्यक्ष शम्भु मिश्रले भने, “हामी अहिले शान्तिपूर्ण रूपमा कालोपट्टी बाँधेर धर्नामा बसेका छौं, तर यदि माग सम्बोधन भएन भने थप सशक्त आन्दोलनमा जान बाध्य हुनेछौं।”

केन्द्रीय संघर्ष समितिको निर्देशनअनुसार मधेस प्रदेशमा कार्यरत कर्मचारीहरूले धर्ना कार्यक्रमलाई निरन्तरता दिइरहेका छन्। देशभर २ हजार ८१३ जना दैनिक ज्यालादारी कर्मचारी कार्यरत छन्, जसमध्ये ४७८ जना मधेस प्रदेशमा सेवा दिइरहेका छन्। कर्मचारीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।