एसपी रिपोर्टर
काठमाणडौँ,साउन १३
: नेपाल विद्युत प्राधिकरणमा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।

दैनिक ज्यालादारीमा काम गरिरहेका कर्मचारीलाई मासिक ज्यालादारीमा नियुक्ति दिने पटक–पटकको सहमति र सम्झौता कार्यान्वयन नभएपछि दैनिक ज्यालादारी कर्मचारी संघर्ष समितिको अगुवाइमा उनीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरु कालोपट्टी बाँधेर प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि धर्नामा बसेका छन् ।नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले २०८० साउन ३१ गतेको ९४९ औं बैठकमा दैनिक ज्यालादारी कर्मचारीहरूलाई मासिक ज्यालादारीमा नियुक्त गर्ने निर्णय गरिसकेको भएपनि उक्त निर्णय अहिलेसम्म कार्यान्वयन भएको छैन । उक्त निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ ।संघर्ष समितिका सदस्य तथा हेलम्बु वितरण केन्द्रमा कार्यरत कर्मचारी गणेश प्रसाद खतिवडाले आफ्ना मागहरु सम्बोधन नभए आन्दोलन थप चर्कोउने चेतावनी दिए । निर्णय कार्यान्वयन गर्न नसकिने भए औपचारिक रूपमा खारेज गरेर आफूहरुलाई घर फर्काउनुपर्ने उनको धारणा छ । उनले दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नसमेत माग गरे ।मागहरु पुरा नभएसम्म काम ठप्प पार्दै अनिश्चितकालीन धर्नामा बस्ने उनले चेतावनी समेत दिए ।