एसपी रिपोर्टर
काठमाणडौँ , साउन १२ : संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा डा.सीके राउत नेतृत्वको जनमत पार्टी सहभागी नहुने भएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपाल (जसपा)ले सोमबार बोलाएको बैठकमा जनमत सहभागी नहुने भएको हो ।
मधेश केन्द्रित सात दलको मोर्चाले बैठक आलोपालो आह्वान गर्दै आएका छन् । आजको बैठक जसपा नेपालले आह्वान गरेको छ । सिंहदरबारस्थित जसपा नेपालको संसदीय दलको कार्यालयमा अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको छ । छलफलका एजेण्डाहरुमा मोर्चाको निर्धारित कार्यक्रम, कुमार लिङ्देन तथा केपी पालुङ्वाको पार्टीहरुसँग मोर्चाको सहकार्य र विविधि राखिएको छ ।जनमतप्रति जसपा नेपालको व्यवहार, रुपन्देही-३ उपनिर्वाचन लगायतका कारणले मोर्चाको बैठकमा संलग्न नहुने अवस्था बनेको जनमतका नेताहरुले बताएका छन् । ‘मोर्चाप्रति हाम्रा केही चासोका विषय छन् । ती मुद्दाबारे पार्टीभित्र पनि छलफल गरेर कसरी अघि बढ्ने कुरा हुन्छ । मोर्चाको आजको बैठकमा जनमत सहभागी हुँदैन’, जनमतका प्रवक्ता डा.शरदसिंह यादवले भने ।गत चैतमा गठन भएको मोर्चामा जनमत, जसपा नेपाल, नाउपा, राजेन्द्र महतोको नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, महन्थ ठाकुर नेतृत्वको लोसपा, हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी छन् ।





