एसपी रिपोर्टर
रौतहट, साउन १२ : रौतहटको राजपुर नगरपालिका–३ का एक दलित महिलालाई एक वर्ष अघि जबरजस्ती करणी गरेको आरोपमा रौतहट जिल्ला राजपुर–३ का खुर्सैद खाँ पैठानलाई रौतहट जिल्ला अदालातले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
रौतहट जिल्ला अदालतका न्यायाधीश पुण्यप्रसाद सापकोटाको इजलासले आरोपित पैठानलाई पुर्पक्षका लागि जिल्ला कारागार चलान गरेको हो । इजलाश नं. ३ का इजलास अधिकृत आस्था शर्मा पौडेलले सो कुराको जानकारी दिनुभएको हो ।थुनछेक बहस चलिरहँदा जबरजस्ती करणी घटनाको आरोपित पैठानलाई थुनामै राखी अनुसन्धान गर्न दबाबस्वरूप महिलाहरूले रौतहट जिल्ला अदालतको प्रवेशद्वारमा प्रदर्शन गरेका थिए ।महिला अधिकारकर्मी सावित्री सुवेदीको नेतृत्वमा आएका महिलाहरूले आरोपित पैठानलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने, कुनै पनि बहानामा आरोपितलाई उन्मुक्ति दिन नहुने भन्दै नाराबाजी गरेका थिए ।जबरजस्ती करणीको मुद्दाबाट पछाडि हट्न आरोपी पैठानको आफन्त र छोराहरूबाट निरन्तर दबाब, पैसाको प्रलोभन आएको र उनको शर्त नमानेपछि ज्यान लिने धम्की समेत आएको पीडित दलित महिलाका श्रीमान् सिकेन्द्र राम चमारले बताउनुभयो ।रौतहटको राजपुर–३, बलुवा टोलका दलित महिलाको एक वर्ष अघि भएको जबरजस्ती करणीको घटनामा फरार रहेका आरोपी पैठान गएको असार १८ गते जिल्ला प्रहरी कार्यालय रौतहटमा हाजिर भएका थिए । घटनाको निष्पक्ष ढङ्गले छानबिन गर्न र दोषीलाई पैसा, राजनीतिक पहुँच या अन्य कुनै पनि प्रलोभनमा उन्मुक्ति दिन नहुने राजपुर–४ घर भएका आम जनता पार्टीका केन्द्रीय सदस्य राजन साहले माग गर्नुभयो ।





