एसपी रिपोर्टर
काठमाणडौँ, साउन ११
: इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको ‘प्रकाश मानव अधिकार पुरस्कार’ यस वर्ष चुरे तथा वन-जङ्गल संरक्षण अभियानका संयोजक सुनिलकुमार यादवलाई प्रदान गरिने निर्णय इन्सेकले गरेको छ ।

पुरस्कारका लागि सार्वजनिकरूपमा आह्वान गरिएअनुसार प्राप्त ४० जनाको नाममध्येबाट वातावरण अधिकारका क्षेत्रमा सम्झौतारहित सङ्घर्ष गर्दै आएका यादवलाई छनोट गरिएको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित प्रकाश मानव अधिकार पुरस्कार छनोट समितिले सो निर्णय गरेको हो । समितिमा राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य डा। सूर्यप्रसाद ढुङ्गेल र अधिकारकर्मी गंगा कसजु सदस्य रहेका छन् ।बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–२ मौवाही निवासी यादव सन् २०७४ सालदेखि चुरे संरक्षण र वातावरणीय अधिकारका विषयमा निरन्तर सक्रिय रहँदै आएका छन्। चुरे क्षेत्रको दोहनका कारण मधेस प्रदेशमा देखा परिरहेका जलवायु तथा वातावरणीय असरबारे सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउन उनले विभिन्न सचेतनामूलक कार्यक्रम, अभियान र पैरवी गर्दै आएका छन्।आगामी साउन १६ गते काठमाडौँमा आयोजना हुने ३३ औँ प्रकाश स्मृति दिवसको अवसरमा पुरस्कृत व्यक्तित्व यादवलाई नगद ५० हजार  सम्मानपत्र र इन्सेकको प्रतीक चिन्ह प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।