एसपी रिपोर्टर
काठमाणडौँ, साउन १० : बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले साउन महिनाभित्रै ड्राइभिङ लाइसेन्स छापेर सवारी चालकहरूलाई वितरण सुरु गरिने बताएका छन् ।
हालै सुरु गरिएको ई–ड्राइभिङ लाइसेन्स (ईडीएल) प्रणालीले सकारात्मक प्रभाव पार्न थालेको उनको भनाइ थियो । गत वैशाख १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा वागमती ईडीएल प्रणाली तथा अनलाइन बिलबुक सेवा ‘नागरिक एप’ मार्फत सार्वजनिक गरिएको थियो ।‘साउनभित्रै हामीले लाइसेन्स प्रिन्ट गरेर वितरण सुरु गर्छौं, यसबाट सेवाग्राहीहरूलाई सिधै फाइदा पुग्नेछ,’ उनले भने, ‘जनताले पटक–पटक यातायात कार्यालय जानुपर्ने बाध्यता हटाउने र विचौलिया संस्कृतिको अन्त्य गर्ने हाम्रो मुख्य उद्देश्य हो ।’उक्त सेवा सुरु भएको तीन महिनामा धेरै सेवाग्राहीले यसबाट लाभ लिइरहेको मन्त्री महर्जनको भनाइ छ ।नागरिकहरूले आफ्नो सवारी साधनसम्बन्धी विवरण अनलाइनमार्फत भरेर यातायात कार्यालयमा भेरिफिकेसन गराउन सक्ने र त्यसपछि पटक–पटक कार्यालय धाउनु नपर्ने व्यवस्था गरिएको जानकारी उनले दिए ।वागमती प्रदेशबाट शुरु भएको यो डिजिटल सेवा अब क्रमश: अन्य प्रदेशहरूमा पनि विस्तार हुने मन्त्री महर्जनले बताए ।उनका अनुसार सातैवटा प्रदेशले आगामी वैशाखदेखि आ—आफ्नै प्रदेशबाट लाइसेन्स छाप्ने तयारी गरिरहेका छन् । जसको सुरुवात वागमती प्रदेशले गर्न लागेको हो ।





