एसपी रिपोर्टर
काठमाणडौँ, साउन १० : राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले तराई–मधेस क्षेत्रमा आपत्कालीन राहतको व्यवस्था गर्न माग गरेका छन् ।
सुख्खा प्रभावित मधेस क्षेत्रलाई संकट घोषणा गरिएलगत्तै उनले खाद्यान्न, पिउने पानी, औषधी लगायतलाई समेटेर आपत्कालीन राहत योजना तुरुन्त लागू गर्न माग गरेका हुन् ।उनले किसानको ऋण माफी गर्न माग गर्दै बिउ, खाद्य र कृषि उपकारणमा निःशुल्क सहायता प्याकेज लागू गर्न समेत माग गरेका छन् । अध्यक्ष महतोले शनिबार एक वक्तव्य जारी गर्दै सो क्षेत्रमा विद्युत् आपूर्ति समेत निर्बाध रूपमा उपलब्ध गराउन माग गर्दै खानेपानी एवं कृषि र विद्युत् शुल्क निःशुल्क गर्न माग गरेका छन् ।उनले किसानका लागि सिँचाइ एवं खानेपानीको निम्ति आवश्यक उपकरण उपलब्ध गराउन समेत माग गरेका छन् । त्यसका लागि स्थानीय सरकारको सिफारिसमा भन्सार निःशुल्क गर्न समेत उनले माग गरेका छन् । राहतलाई राजनीतिक विषयका रूपमा नभई मानवीय सङ्कटको रूपमा लिन आग्रह गर्दै उनले केन्द्र र प्रदेश सरकारले यो समस्यालाई दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय जिम्मेवारीको रूपमा समाधान गर्नुपर्नेमा जोड दिएका छन् । उनले चुरे विनाश रोक्न कानुनी तथा कार्यकारी कदम चाल्नुपर्ने बताउँदै साना जलाशय, पोखरी र वर्षा जल सञ्चयन प्रणालीको पुनर्निर्माण गर्न समेत माग गरेका छन् । अध्यक्ष महतोले मन्तव्यमा भनेका छन्, ‘यो केवल एक प्राकृतिक आपत् मात्र होइन, यो राज्य संरचनाको दीर्घकालीन उपेक्षा, जल–जङ्गल–जमिनको दोहन र पश्चिमा औपनिवेशिक विकास मोडेलको कारणले भइरहेको शोषणको परिणाम हो ।’ लगातार घट्दो वर्षा, भूमिगत जलको न्यून पुनर्भरण, सिँचाइ संरचनाको चरम अभाव र चुरे क्षेत्रको अनियन्त्रित दोहनका कारणले गर्दा मधेसको जमिन अब जलहिन हुँदै गइरहेको उनले उल्लेख गरेका छन् । सुक्खाले खेतबारीमा मात्र नभई पिउने पानीको समेत अभाव भएको बताउँदै उनले यसले मधेसको जनजीवन निकै कष्टपूर्ण बनेको बताएका छन् । उनले भनेका छन्– ‘यो सिर्फ पानीको सङ्कट होइन, यो अस्तित्वको सङ्कट हो । सरकारको ढिलासुस्ती र राजनीतिक औपनिवेशिकता एवं असंवेदनशीलताले यो विपत्तिलाई अझै भयावह बनाइरहेको छ । तराई–मधेसलाई केवल भोट बैंक सम्झने मानसिकता र संरचनागत असमानताले आजको यो स्थिति जन्माएको हो ।’





