एसपी रिपोर्टर
काठमाणडौँ, साउन १०
: रिजवान अन्सारी नेतृत्वको नेपाल सङ्घीय समाजवादी पार्टीले विचार र सिद्धान्त मिल्ने अन्य पार्टीहरूसँग एकता र सहकार्यका लागि वार्ता गर्न समिति गठन गरेको छ ।

शुक्रबार बसेको पार्टीको पदाधिकारी बैठकले महासचिव अनन्त राईको नेतृत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरिएको अध्यक्ष अन्सारीले जानकारी गराए ।तराई मधेसका विभिन्न पाँच दलबिच यसअघि नै सङ्घीय गणतान्त्रिक गठबन्धन बनिसकेको छ । ती दलहरूका बिच पनि एकताका लागि पहल गर्ने र त्यसबाहेक अन्य दलहरूसँग पनि गठबन्धन वा एकताका लागि छलफल गर्न वार्ता समिति गठन गरिएको उनले बताए । उनले भने– ‘यो सङ्क्रमणकालीन अवस्थामा पुगिसकेको छ, जतिबेला जे पनि हुनसक्छ त्यसको सामना गर्न पनि तयारी अवस्थामा रहनुपर्छ र त्यसका लागि एक्ला एक्लै सम्भव नहुने देखिएकाले हामी एकता र सहकार्यमा जोड दिएका हौँ ।’ वर्तमान सरकारको पालामा व्यापक रूपमा भ्रष्टाचार बढेको र सरकारका मन्त्रीहरू नै संलग्न रहेको प्रमाणहरू सार्वजनिक भइरहेको उल्लेख गर्दै अध्यक्ष अन्सारीले सुशासनको अनुभूति जनताले गर्न नसकेको ठहर बैठकले गरेको बताए । बैठकले सङ्घीय गणतान्त्रिक गठबन्धनले देशभरि सञ्चालन गरिरहेको जनजागरण अभियानको मूल्याङ्कन गर्दै यसलाई अझ सशक्त ढङ्गले अगाडि बढाउन पार्टीले अग्रसरता लिने निर्णय गरेको समेत उनले बताए । यो अभियानलाई ७७ वटै जिल्लामा थप प्रभावशाली रूपमा विस्तार गर्दै नेता–कार्यकर्ताहरूलाई आ–आफ्नो क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्न समेत बैठकले निर्देशन दिएका उनले बताए ।अध्यक्ष अन्सारीले ‘समग्र मधेस एक प्रदेश’ बनाउने जनचाहनालाई आत्मसात् गर्दै पार्टीका सम्पूर्ण नेता–कार्यकर्तालाई वैकल्पिक राजनीतिक शक्तिको निर्माणमा गम्भीरतापूर्वक लाग्न बैठकले निर्देशन दिएको समेत बताए ।