एसपी रिपोर्टर
काठमाणडौँ, साउन १० : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले नेपालको मुख्य दुस्मन राजतन्त्र नभएको बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले उठ्न जमर्को गरे पनि नेपालमा सामन्ती निरङ्कुशतन्त्र र राजतन्त्र मुख्य दुस्मन नभएको बताए । उनले नेपालमा अहिले दलाल पुँजीपतिहरू, बिचौलियाहरू,ले नेपाल राज्यलाई विध्वंस बनाइरहेको बताए । नेपालको अर्थतन्त्रलाई, नेपालको विकास प्रक्रियालाई केही मुठीभर दलालहरूले आफ्नो कब्जामा लिएको उल्लेख गरे । आजको विकास र समृद्धिको यात्रामा नोकरशाही पुँजीवाद नै मुख्य वाधक भएको जिकिर गरे ।अध्यक्ष प्रचण्डले भने, ‘नेपालमा अहिले दलाल पुँजीपतिहरू, बिचौलियाहरू, केही थोरैले नेपाल राज्यलाई विध्वंस पार्दैछन् । नेपालको अर्थतन्त्रलाई, नेपालको विकास प्रक्रियालाई केही मुठीभर दलालहरूले आफ्नो कब्जामा लिएका छन् । आजको विकास र समृद्धिको यात्रामा नोकरशाही पुँजीवाद नै मुख्य वाधक भएको छ । आजभोलि साँच्चै दयनीय स्थिति छ ।’ उनले थप भने, ‘विधायिकातिर हेर्दा पनि लाजमर्दो स्थिति छ । सङ्घीय निजामती विधेयकमा के भयो छेडखानी ? सबै सांसदहरू अपमानित हुने गरी चलखेल र छेडखानी कसले गर्यो ? अदालत, व्युरोकेसी, भ्रष्टाचार सर्वत्र छ । यसका विरुद्ध हामी लड्नुपर्छ । अहिले नेपालमा सामन्ती निरङ्कुशतन्त्र र राजतन्त्र मुख्य दुस्मन छैन नेपालमा । उठ्न जमर्को गरे पनि त्यो उठ्ने वाला पनि होइन ।’अध्यक्ष प्रचण्डले भ्रष्टाचार, दलाल पुँजीवाद, नोकरशाही पुँजीवादको विरुद्ध सबै एक हुने सङ्कल्प गर्न जरुरी रहेको बताए ।





