एसपी रिपोर्टर
काठमाणडौँ , साउन ६
: वर्तमान केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी भएर काम गर्न नसकेका मन्त्रीहरूलाई फिर्ता बोलाउन सभापति शेरबहादुर देउवालाई नेताहरूले सुझाव दिएका छन् ।

मंगलबार बिहान देउवा निवास बुढानीलकण्ठ पुगेर पूर्व उपसभापतिहरू विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महतले काम गर्न नसकेका मन्त्रीहरूलाई फिर्ता बोलाउन सुझाएका हुन् । भेटमा सहभागी पूर्व उपसभापति श्रेष्ठले सरकारमा गएको एक वर्ष पुगेकाले पार्टीका तर्फबाट मन्त्री बनेकाहरूको कार्यसम्पादन मूल्याङ्कन गर्दै राम्रो काम गर्न नसक्नेलाई फिर्ता बोलाउन सभापतिलाई सुझाव दिइएको जानकारी दिए ।‘कांग्रेस ओलीजी नेतृत्वको सरकारमा सहभागी भएको एक वर्ष पुगेको छ । समग्रमा सरकारले नै राम्रो काम गर्न सकेको छैन । कांग्रेसका मन्त्रीहरूले पनि राम्रो काम नगरेका गुनासोहरू आएका छन्,’ श्रेष्ठले भने, ‘तपाईँले कार्यसम्पादन मूल्याङ्कन गर्नुस् । राम्रो काम गर्नेलाई राख्नुस् । नराम्रो काम गर्नेलाई ‘विथ ड्र’ गर्नुस् भनेर हामीले सभापतिलाई सुझाव दिएका छौँ ।’नेताहरूले सरकारको कामको मूल्याङ्कन गर्न र सरकारलाई चुस्तदुरुस्त बनाउन पहल लिन पनि सुझाएका थिए ।सरकारको काम चुस्तदुरुस्त बनाएर पार्टी कार्यकर्तामाझ मात्रै होइन आगामी भदौबाट जनतासम्म पुग्ने वातावरण निर्माण गर्न सभापतिलाई आफूहरूले आग्रह गरेको श्रेष्ठले जानकारी दिए ।