एसपी रिपोर्टर
बर्दीबास, साउन ५
: महोत्तरीको प्रसिद्ध व्यापारिक केन्द्र गौशालामा गोरु बजारको ठेक्का विषयलाई लिएर झगडा हुँदा वडाध्यक्षसहित पाँच जना घाइते भएका छन् । 

विवादका कारण सोमबारे चौपाया बजार सुनसान देखिएको छ भने विवादित क्षेत्रलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरीका अनुसार दुई पक्षिय कुटपीटमा गौशाला नपा–२ का वडाध्यक्ष श्यामसुन्दर मण्डल, सोही वडाका ३५ वर्षीय विजय यादव, गौशाला–४ का ३२ वर्षीय विपिन साह र सुनिल साह घाइते हुनुभएको छ ।टाउकोमा गहिरो चोट लागेको उहाँहरूलाई प्राथमिक उपचारपछि बर्दीबासस्थित शुभ स्वस्तिक अस्पतालमा भर्ना गरिएको छ ।हातमा चोट लागेको वडानं.–२ का ४२ वर्षीय सुरेन्द्र महतोको प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचार चलिरहेको छ । जिल्ला प्रहरीका डिएसपी एवं सूचना अधिकारी शैलेन्द्र भट्टल सबै घाइतेको अवस्था मध्यम रहेको बताउनुभयो । गौशाला बजारका केही चौपाया व्यापारीका अनुसार विवादित गोरु बजार राणा कालदेखि नै श्री निगौल गाई गौशाला मातहतको एक बिघा जग्गामा लाग्दै आएको छ । २०७१ सालमा सात दलिय संयन्त्रले चौपाया बजारको ठेक्काबाट उठेको रकममध्ये प्रतिवर्ष २५ प्रतिशत जग्गाधनी श्री निगौला गाई गौशालालाई दिने लिखित निणर्य भएको थियो । तर निर्णय लत्याउँदै नगरपालिकाले २५ प्रतिशत रकम नदिएको गाई गौशालाको आरोप छ ।  रकम नदिए पनि गोरु बजारको ठेक्का भने नगरपालिकाले लगाउँदै आएकोले विवाद भएको हो । चालु वर्ष २०८२/८३ का लागि पनि नगरपालिकाले आफुखुसी गौशाला–४ का श्रवण महतोलाई गोरु बजार ठेक्का लगाएपछि गाई गौशालाको असहमति रहेको छ ।