एसपी रिपोर्टर
जनकपुरधाम , साउन ५ : महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–१ पर्साका ३१ वर्षीय विमलेश यादवको हत्या आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, विवाहेत्तर सम्बन्धकै कारण यादवको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।
शनिबार राति जनकपुरको होटल एसपी एण्ड गेष्टहाउसमा यादवको छुरा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार यादवको हत्या उनकी साथमा भएकी युवतीले नै गरिन् भन्ने देखिएको छ। यद्यपि, प्रहरीले पक्राउ परेकी युवतीको नाम र ठेगाना सार्वजनिक गरेको छैन।सिसीटिभी फुटेजअनुसार, शनिबार राति ९:५० बजे यादव एक युवतीसँग होटलमा प्रवेश गरेका थिए। करिब पाँच घण्टापछि, आइतबार बिहान २:५७ बजे यादव नग्न र रक्ताम्य अवस्थामा होटलको पहिलो तलाबाट खसेका थिए। त्यसको पाँच मिनेटपछि युवती तल ओर्लिएर वरपर हेर्दै घटनास्थलबाट भागेको दृश्य पनि क्यामेरामा देखिएको छ।घटनापछि प्रहरीले गम्भीर अवस्थामा रहेका यादवको बयान लिएको थियो। बयान दिएपछि उनी आफैं एम्बुलेन्स चढेको पनि सिसीटिभीमा देखिन्छ। तर आइतबार बिहान ७:४५ बजे प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा उनको मृत्यु भयो।प्रहरी अनुसन्धानका अनुसार विमलेश विवाहित थिए र उनका दुई सन्तान छन्। उनी र आरोपी युवतीबीच विगत चार वर्षदेखि सम्बन्ध थियो। उक्त सम्बन्धका कारण दुवै पक्षका परिवारबीच पटक–पटक विवाद पनि भएको थियो। पछि दुवै परिवारले आपसी सहमतिमा कुराकानी नगर्ने निर्णय गरेका थिए।विमलेश वैदेशिक रोजगारीका लागि दुईपटक विदेश गएका थिए। उनले विदेशमा कमाएको रकममध्ये करीब २७ लाख रुपैयाँ आरोपीलाई पठाएको उनका आफन्तहरू बताउँछन्। कतारबाट फर्किएको छ महिनामात्र भएको अवस्थामा सम्बन्धमा दरार आउन थालेपछि विमलेशले आफ्नो पैसा फिर्ता मागेपछि विवाद चर्किएको थियो। यही विवादले अन्ततः उनको ज्यान लिएको हो भन्ने प्रहरीको आशंका छ।प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी राखेको जनाएको छ।





