एसपी रिपोर्टर
विराटनगर , साउन ४ : १५ वर्षीय बालकको पेटबाट नोबेल मेडिकल कलेजका चिकित्सकले कैंची निकालेका छन् । उदयपुरका बालकले खेल्ने क्रममा निलेको कैंची नोबेलका चिकित्सकले शल्यक्रिया गरेर निकालेका हुन् ।
नोबेल मेडिकल कलेजका प्रबन्धक दिपेश राईका अनुसार, १७ असारमा भर्ना भएका बालकको ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरी पेटभित्र अड्किएको कैंची निकालिएको हो ।शल्यक्रिया पछि बालक घर फर्किएको उनले बताए ।घरमा टीभी हेर्ने क्रममा बालकले खेलाइरहेको कैंची अड्किएपछि आफन्तले स्थानीय अस्पताल हुँदै नोबेल पुर्याएका थिए । गम्भीर अवस्थामा भर्ना भएका उनको ल्याप्रोस्कोपिक सर्जन डा. अमित भट्टराई र डा. दिनेश अधिकारीको टिमले शल्यक्रिया गरी कैंची निकालेको थियो ।अस्पतालका अनुसार, खेल्ने क्रममा घाटीमा अड्किएको कैची घरमा निकाल्न खोज्दा सानो आन्द्रासम्म पुगेको थियो ।ढल्किएर टीभी हेर्दै मुखमा कैंची खेलाइरहेको अवस्थामा अचानक घाँटी भित्र छिरेको थियो । बालकले कैंची अड्कियो भन्दै कराएपछि हजुरबुबाले निकाल्न खोज्दा कैंची अझै भित्र पसेको थियो ।स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि आफन्तले नोबेल लगेका थिए । नोबेल आइपुग्दा भने पेटमा कैंची पुगिसकेको थियो । गम्भीर अवस्थामा आएका बालकको तत्कालै शल्यक्रिया गरी कैंची निकालेको अस्पतालले जनाएको छ ।





