एसपी रिपोर्टर
काठमाणडौँ , साउन २ : सौर्य एयरको विमान दुर्घटनासम्बन्धी अन्तिम प्रतिवेदन सार्वजनिक भएको छ । शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिनका लागि गठित समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गरेको हो ।
उक्त प्रतिवेदनमा टेकअफको क्रममा आवश्यकभन्दा कम गतिमा, असामान्य रूपले तीव्र गतिमा ‘एयरक्राफ्ट नोज’लाई माथि उठाउन खोज्दा विमान डीप स्टलमा जानु नै दुर्घटनाको मुख्य कारण रहेको औँल्याइएको छ । डीप स्टल भनेको यस्तो अवस्था हो जसमा विमान उड्नका लागि चाहिने न्यूनतम गति नपुग्दै पाइलटले विमानको अगाडिको भागलाई निकै छिटो र धेरै माथि उठाउँछन् । यो अवस्थाका कारण विमानले हावामा आफ्नो सन्तुलन गुमाएको र अनियन्त्रित भई खसेको समितिको निष्कर्ष छ । प्रतिवेदनले दुर्घटना हुनुमा कुनै एक व्यक्ति वा संस्थालाई ‘दोषी’ करार गरेको छैन । तर, धेरै पक्षलाई यसको जिम्मेवार ठहर्याएको छ । वायुसेवा सञ्चालक कम्पनी सौर्य एयरलाइन्सले लामो समयदेखि आफ्ना पाइलटहरूलाई गलत भी–स्पिड भएको स्पिडकार्ड प्रयोग गर्न दिएको थियो। यो त्रुटि पत्ता लगाउन र सच्याउन एयरलाइन्स पूर्ण रूपमा असफल रहेको समितिको निष्कर्ष छ। यही नै दुर्घटनाको एक प्रमुख सहयोगी कारक थियो ।पाइलटहरूले बारम्बार तीव्र पिच रेटमा टेकअफ गरिरहेको कुरा एयरलाइन्सको व्यवस्थापनले थाहा पाउन नसकेको वा त्यसलाई रोक्न कुनै कदम नचालेको समितिको अर्को आरोप छ । यसलाई समितिले ‘सिस्टमेटिक इरर’ भनेको छ । ग्राउण्ड ह्यान्डेलिङमा पनि लापरबाही भएको रिपोर्टमा उल्लेख छ । सामानको तौल नगर्नु, सामानलाई क्याबिनभित्र जथाभावी राख्नु र त्यसलाई डोरी वा नेटले सुरक्षित नबाँध्नु एयरलाइन्सको गम्भीर लापरबाही रहेको निष्कर्ष रहेको छ । उडान प्रक्रियामा अन्तर्राष्ट्रिय अभ्यासको पालना नभएको समेत समितिको निष्कर्ष छ । दुर्घटनामा चालक दलको समेत कमजोरी भेटिएको छ । खासगरी गलत गतिको प्रयोग, अत्यधिक पिच रेट र त्रुटि पत्ता लगाउन असफल हुनुमा चालक दलको कमजोरी मानिएको छ । फर्स्ट अफिसरले भीस्पिडले गलत स्पीडकार्ड हेरेर टेकअफको गति गणना गरेको र क्याप्टेनले त्यसलाई जाँच नगरीकनै स्वीकार गरे ।त्यस्तै, क्याप्टेनले उडान सुरक्षाको हिसाबले गम्भीर गल्ती मानिने गरी एयरक्राफ्ट नोजलाई खतरनाक रूपमा छिटो माथि उठाएको निष्कर्ष छ । लामो समयदेखि प्रयोगमा रहेको स्पीडकार्डमा भएको गल्ती चालक दलका कुनै पनि सदस्यले पत्ता लगाउन नसकेको समेत उल्लेख गरिएको छ । उक्त रिपोर्टमा नागरिक उड्डयन प्राधिकरणको समेत कमजोरी औँल्याइएको छ । कमजोर निरीक्षण र नियमन, उडान डाटा निगरानीको अभाव, अधुरो डाटा रेकर्डिङ प्राधिकरण कमजोरीको रूपमा प्रतिवेदनमा उल्लेखित छ । एयरलाइन्सले गरिरहेका गलत स्पीडकार्डको प्रयोग, कार्गो ह्यान्डलिङमा लापरबाही जस्ता गम्भीर गल्तीलाई प्राधिकरणले पत्ता लगाउन नसकेको, प्राधिकरणले एयरलाइन्सलाई उडान डाटा निगरानी कार्यक्रम अनिवार्य र प्रभावकारी रूपमा लागू गराउन नसकेको रिपोर्टमा उल्लेख छ । प्राधिकरणले यस्ता जोखिमपूर्ण अभ्यासहरूलाई समयमै पहिचान गर्न सक्ने ठाउँ रहेको प्रतिवेदनमा उल्लेख छ । विमानको ब्ल्याक बक्समा महत्त्वपूर्ण डाटाहरू रेकर्ड नभएकोबारे प्राधिकरण अनभिज्ञ रहेको प्रतिवेदनमा भनिएको छ । आपतकालीन व्यवस्थापनको काममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई समेत दोषी देखाइएको छ । दुर्घटनास्थलमा पुग्ने आपतकालीन बाटो बन्द हुनु र उद्धार तथा आगो निभाउने कार्य प्रभावकारी नहुनु विमानस्थल व्यवस्थापनको कमजोरी भएको प्रतिवेदनको निष्कर्ष छ । त्यस्तै, दुर्घटनास्थलबाट प्रमाणका रूपमा रहेका ब्यागेज सौर्य एयरलाइन्सको कार्यालयमा पुग्नुले विमानस्थलको सुरक्षा र व्यवस्थापनमा गम्भीर प्रश्न उठाएको भनिएको छ ।





