एसपी रिपोर्टर
जनकपुरधाम , साउन २ : मधेश प्रदेश सरकारका मुख्यमन्त्री कार्यालयअगाडि हरवा चरवाहरूले पुनःस्थापना र कार्यविधि पारितको माग गर्दै विरोध प्रदर्शन गरेका छन्।
तेस्रो हरवा चरवा मुक्ति दिवसको अवसर पारेर शुक्रबार दिउँसो आयोजित उक्त प्रदर्शनको उद्देश्य आफ्ना माग पूरा गराउन प्रदेश सरकारलाई दबाब दिनु रहेको थियो।हरवा चरवा प्रथा मुक्तिको घोषणा भएको तीन वर्ष बितिसक्दा पनि सरकारले कार्यविधि पारित नगरेको, बसोबासका लागि जग्गा उपलब्ध नगराएको र पुनःस्थापनाको प्रक्रिया अगाडि नबढाएको भन्दै विरोध गरिएको हो। राष्ट्रिय हरवा चरवा अधिकार मञ्चका महासचिव लागेन्द्र सादाले प्रदेश सरकारलाई ध्यानाकर्षण गराउन दबावमूलक विरोध गरिएको बताए।फ्रिडम फण्ड, सिआईसी र जनचेतना दलित संगमको सहयोगमा आयोजित उक्त विरोध कार्यक्रम मुक्त हरवा चरवा अधिकार मञ्चको अगुवाइमा भएको थियो। समूहले जनकपुरधामका विभिन्न स्थानहरूमा र्याली निकालेर पनि प्रदेश सरकारप्रति असन्तुष्टि व्यक्त गरेका थिए।गौरतलब छ, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले २०७९ साल साउन २ गते हरवा चरवा प्रथा अन्त्य गरिएको घोषणा गरेको थियो।





