एसपी रिपोर्टर
काठमाणडौं , ३१असार : स्पेनको सेभिल्लामा सम्पन्न संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी गराउन भनेर नेपालबाट असम्बन्धितहरूलाई लगेको भनिएको घटना छानबिन गर्न समिति गठन गरिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत एसएसपी होविन्द्र बोगटीको नेतृत्वमा समिति गठन गरिएको हो । समितिमा मानव बेचबिखन ब्युरोका एसपी रुगम कुँवर सहित ६ जना सदस्य छन् ।गृहमन्त्री रमेश लेखकको प्रहरीलाई सो घटना अनुसन्धान गर्ने जिम्मेवारी दिएसँगै समिति गठन गरिएको सीआईबीका एक जना उच्च अधिकृतले बताए ।प्रधानमन्त्री केपी ओली सहभागी कार्यक्रममा असम्बन्धित व्यक्तिहरूलाई समेत बिचौलियाले कागजात बनाएर पठाएको भन्दै संघीय संसदमा सांसदहरुले प्रश्न उठाइरहेका छन् ।सेभिल्लामा ३० जुनदेखि २ जुलाईसम्म सम्मेलन चलेको थियो । त्यसमा सहभागी गराउन बिचौलियाहरूले रकम असुलेर केही व्यक्तिहरूलाई भिजिट भिसामा विदेश पठाएको आरोप छ ।भिजिट भिसामा त्यसतर्फ गएका र फर्के–नफर्केको यकिन गरेपछि पठाउने गिरोहबारे अनुसन्धान गरिने गृहका एक जना उच्च अधिकृतले बताए ।उनले भने, ‘विस्तृत अनुसन्धान पछि कोही संलग्न देखिए फौजदारी मुद्दा अघि बढाउने निर्णय भएको छ ।’





