एसपी रिपोर्टर
झापा, २९ असार
: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्त्वले अनावश्यक हल्ला चलाएको बताएका छन् ।

आइतबार झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । विरोधी र अराजक तत्त्वले अरू कुरा नपाएर स्पेनमा मान्छे छाडेर आयो भनेर झुट र घटिया प्रचार गरेको भन्दै उनले यस्ता कुराहरूको जवाफ दिन आवश्यक नभएको टिप्पणी गरे ।विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको  आयोजनाका रूपमा रहेको सो सडक नेपालभरका १७ सडकमध्ये छानिएको एक हो । रु ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमुना आयोजना मानिन्छ ।प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणका लहर ल्याउने क्रममा यो सडक पनि रहेको जनाउँदै मेची महाकालीसम्म थालेका काम सक्ने अभियानमा सरकार रहेको बताए । प्रधानमन्त्री ओलीले दमकको बेलडाँगीमा विशाल रङ्गशाला निर्माण हुने घोषणा पनि गरे ।उनले हरेक क्षेत्रमा सुधार ल्याउने योजना बमोजिम स्वयंसेवी भावनाका साथ महत्त्वपूर्ण विषयमा निःशुल्क अनलाइन कक्षा सञ्चालन गरेपछि यस वर्ष एसईईमा नतिजा १३ प्रतिशतले सुधार आएको बताए ।कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्व मुख्यमन्त्रीहरू शेरधन राई, उद्वव थापालगायत सहभागी रहेका थिए ।