एसपी रिपोर्टर
बुटवल ,असार २६
: केही  समय अघि राप्रपा परित्याग गरेका भैरहवाका  अजयकुमार गुप्ताले आगामी कार्तिक १७ मा हुने रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् ।

बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी गुप्ताले उम्मेदवार बन्ने घोषणा गरेका हुन् । इँट्टा उद्योगी र विभिन्न संघसंस्थामा आबद्ध गुप्ताका बुबा रतनकुमार गुप्ता सिद्धार्थनगर नगरपालिकाका पूर्वउपमेयर थिए ।आफूलाई विभिन्न दलहरूले प्रस्ताव गरेपनि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेको जानकारी दिए । पत्रकार सम्मेलनमा उनले पछि कुनै दलसँग सहकार्य हुनसक्ने सम्भावना भने रहेको बताए ।गुप्ताको उम्मेदवारी कायमै रहे राप्रपाको मत काटिने छ । रुपन्देही–३ मा यसअघि बुटवल मोतिपुरका लेखनाथ गैरेले पनि उम्मेदवार बन्ने घोषणा गरेका थिए । यस्तै काठमाडौं उपमहानगरका मेयर बालेन शाहका सल्लाहकार  तिलोत्तमाका सन्तोष गिरीले पनि उम्मेदवारी दिने तयारी गरेका छन् ।नेपाली कांग्रेसबाट बालकृष्ण खाँड, प्रमोद यादव, भरत शाह, रामचन्द्र ढकाल, रमेश खनाल, एमालेबाट खिमलाल भट्टराई, शशी पौडेल, भरत पोख्रेल लगायतको चर्चा छ ।७ मधेशी दल आबद्ध मोर्चाबाट नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दिने छ । रास्वपाबाट उम्मेदवारका आकांक्षी खुलेका छैनन् । राप्रपाबाट दीपक बोहराका छोराहरू गौरव बोहरा, प्रज्वल बोहरा र नातिनी स्वाति थापा  उम्मेदवारका आकांक्षी छन्  ।गुप्ताले गत वैशाखमा मात्रै राप्रपा रुपन्देहीको उपाध्यक्ष पदबाट राजीनामा दिएका थिए । त्यसअघि पनि उनले पार्टी छोडेको घोषणा गरेका थिए तर पछि पुन: जोडिएका थिए ।