एसपी रिपोर्टर
काठमाणडौँ ,असार २६
: नेपाली कांग्रेसको अनुशासन समितिमा कारबाही फुकुवाका लागि ८८ जनाले पुनरावेदन दिएका छन् । पार्टी अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाका अनुसार, २०७९ मा सम्पन्न संघीय, प्रदेश तथा स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेका तथा त्यस्ता उम्मेदवारका प्रस्तावक–समर्थकलाई पार्टीले स्वतः निष्कासन गरेको थियो।ढुंगानाले तीमध्ये धेरैले पार्टीको विधानमा तोकिएको प्रक्रिया पुर्‍याउँदै आफूहरूमाथि भएको कारबाही फुकुवा गरियोस् भन्ने माग गर्दै पुनरावेदन दिएको जानकारी दिए। उनका अनुसार प्रदेशगत रूपमा कोशीबाट १७ जना, मधेसबाट २३ जना, बागमतीबाट ४ जना, गण्डकीबाट ३ जना, लुम्बिनीबाट ३६ जना, कर्णालीबाट ४ जना र सुदूरपश्चिमबाट १ जना गरी जम्मा ८८ जनाको निवेदन प्राप्त भएको छ।‘प्राप्त उजुरी तथा पुनरावेदनहरूको अध्ययन भइरहेको छ,’ ढुंगानाले बिहीबार भने, ‘अहिले समितिले छानबिन गरिरहेको छ। आवश्यक निर्णयका लागि ती निवेदन केन्द्रीय कार्यसमितिको बैठकमा पेस भएका छन्।’