एसपी रिपोर्टर
जनकपुरधाम,असार २६ : बजेटमा भएको त्रुटि छानबिन गर्न तथा सदनको गतिरोध हटाउन प्रदेशसभाले ६ सदस्य कार्यदल गठन भएको छ ।
सभामुख रामचन्द्र मण्डलको नेतृत्व भएको गठन प्रतिपक्ष, सत्ता पक्ष र सरकारका मन्त्री रहने गरी कार्यदल गठन भएको हो ।जसमा प्रमुख प्रतिपक्षी दल जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादव, प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबाट जवाहरलाल कुशवाहा, नेकपा एकीकृत समाजवादीबाट कनिष पटेल छन् ।यस्तै सत्ता पक्षबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता सरोजकुमार यादव छन् ।सदनमा यस विषयमा सभामुख रामचन्द्र मण्डलले जानकारी गराएका छन् ।तर, सरकारका मन्त्री समेत कार्यदलमा रहेको भन्दै प्रमुख प्रतिपक्षी दल जसपाका प्रमुख सचेतक रामअशिष यादवले प्रश्न उठाएका छन् ।उनले कार्यदलमा सरकारका मन्त्री सहभागी गराउन नहुने बताए ।तर मुख्यमन्त्री सतिशकुमार सिंहले सर्वदलीय बैठकमा भएको सहमति अनुसार नै कार्यदल गठन भएको जवाफ दिएका छन् ।सहमति अनुसार भएको कार्यदल गठनबारेमा अहिले टिकाटिप्पणी गर्नु उचित नहुने उनको तर्क छ ।यसपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि सदन बैठक स्थगित गरेका छन् ।विपक्षी दलहरूले नियमित चार दिनदेखि बजेट पुनर्लेखनको माग गर्दै बैठक अवरुद्ध गर्दै आएका छन् ।





