एसपी रिपोर्टर
काठमाणडौँ,असार २६ : आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्वासी तथा अव्यवस्थित बसोबास संघले बिहीबार खानेपानीको माग गर्दै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को कार्यालय अगाडि प्रदर्शन गरेको छ ।त्रिपुरेश्वरस्थित केयूकेएलको कार्यालय घेराउ गर्दै शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्ने माग गरिएको आजपा सुकुम्वासी संघका अध्यक्ष कालबहादुर विकले बताए । सुकुम्वासी बस्तीमा खानेपानीको माग गर्दै संघले यसअघि ध्यानाकर्षण पत्र बुझाएको थियो । तर मागबारे सरकारबाट सुनुवाइ नभएपछि बाध्य भएर कार्यालय घेराउ गर्नुपरेको संघको भनाइ छ ।सहभागीहरूले हात हातमा खाली गाग्री बोकेर प्रदर्शन गर्दै खानेपानीमन्त्री प्रदीप यादवको राजीनामा समेत माग गरेका थिए ।‘आजको २१औं शताब्दीमा आफ्नै देशका नागरिकलाई खानेपानीको हकबाट वञ्चित गर्ने मानवता विरोधी कार्य विरुद्ध हामी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा आजदेखि अनिश्चितकालीन धर्ना तथा विरोधको कार्यक्रम गर्न बाध्य भएका छौं । हामी हाम्रो मागको बारेमा सरकार र सम्बन्धित निकायलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाइ नभएपछि कार्यालय घेराउ गर्नु परेको हो,’ सुकुम्वासी संघका अध्यक्ष विकले भने ।





