एसपी रिपोर्टर
रौतहट , असार २६ : रौतहटमा प्रहरीले ठुलो परिमाणमा स्रोत नखुलेको रकमसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
बिहीबार बिहान भारतबाट गौरतर्फ आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकललाई रोकेर जाँच गर्दा प्रहरीले १२ लाख भन्दा बढी स्रोत नखुलेको रकमसहित एक जनालाई नियन्त्रणमा लिएको हो ।प्रहरीको विशेष टोलीले गौर भन्सार नजिक जाँच गर्ने क्रममा सर्लाही रामनगर गाउँपालिका वडा नम्बर–२ बस्ने चन्दन पण्डितलाई पक्राउ गरेको हो । ब्याग बोकेर गौरतर्फ आइरहेका पण्डितले शङ्कास्पद गतिविधि गरेपछि नियन्त्रणमा लिइएको मधेस प्रदेशका प्रहरी प्रमुख डीआइजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।पण्डितको झोलाबाट स्रोत नखुलेको १२ लाख ७३ हजार ३ सय बरामद भएको डीआइजी चतुर्वेदीले बताए । उनका अनुसार उक्त झोलाबाट ९ लाख २८ हजार ५ सय रुपैयाँ नेपाली र २ लाख १५ हजार रुपैयाँ भारतीय फेला परेको छ ।पैसाको स्रोत खुल्ने कागजात नदेखाएपछि उनलाई पक्राउ गरिएको उनको भनाई छ । साथै प्रहरीले पण्डितको साथबाट बीआर ०३ जे ९५४३ नम्बरको भारतीय मोटरसाइकलसमेत बरामद गरेको छ ।स्रोत नखुलेको पैसा र मोटरसाइकलसहित पक्राउ परेका पण्डितलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।





