एसपी रिपोर्टर
जनकपुर, असार २४ : मधेश प्रदेशसभामा बजेटसम्बन्धी विवाद चर्किएपछि मंगलबार लगातार तेस्रो दिन पनि सदनको काम कारबाही अवरुद्ध भएको छ ।
प्रतिपक्षी दलहरूले वर्तमान बजेटलाई ‘असमान’ र ‘बिचौलियाबाट प्रभावित’ भन्दै यसको पुनर्लेखनको माग गर्दै तेस्रो दिन पनि सदन अवरुद्ध गरेका हुन् ।सभामुखलाई सम्बोधन गर्दै सांसदहरूले नीति निर्माण प्रक्रिया नै दूषित भएको आरोप लगाएका छन् । उनीहरूले यो बजेट मधेशका जनताको प्रतिनिधित्व गर्ने गरी पुनर्लेखन गरिनुपर्नेमा जोड दिए । प्रतिपक्षी सांसदहरूले प्रदेशमा बिचौलिया हाबी भएको र अति भ्रष्टाचार बढेको दाबी गर्दै आफ्ना मागहरू पूरा नभएसम्म सदन चल्न नदिने अडान राखेका छन् ।सत्तापक्षका केही सदस्यहरूले संसद् चल्न दिन र आफ्नो धारणा रोस्टममा गएर सुनाउन आग्रह गरेका थिए । यद्यपि प्रतिपक्षी दलहरूको अवरोधका कारण आजको प्रदेश सभा बैठक स्थगित भएको छ ।यसैबीच, नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मधेश प्रदेशमा नागरिक उन्मुक्तिबाट समानुपातिक सांसद उर्मिला देवी सिंहले मंगलबार बसेको प्रदेश सभा बैठकमै बजेटमा बिचौलिया हाबी भएको बताउँदै आफूसँग प्रमाण रहेको दाबी गरिन् ।उनले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको बारे सदनलाई जानकारी समेत गराइन् ।सदन लगातारअवरुद्ध हुँदा सभामुख रामचन्द्र मण्डलले सदनलाई बन्धक बनाउनु कदापि उचित नहुने भन्दै छलफल र बहसका लागि सदन सुचारु हुनुपर्नेमा जोड दिएका छन् । सभामुखका अनुसार, सत्ता पक्ष र प्रतिपक्षबीच तालमेल हुनुपर्छ र यसका लागि सम्झौताको प्रयास भइरहेको छ ।यस गतिरोधलाई अन्त्य गर्न पटक पटक सर्वदलीय बैठकहरू बसे पनि अहिलेसम्म कुनै निष्कर्षमा पुग्न सकिएको छैन ।





