एसपी रिपोर्टर
काठमाणडौं , २३ : सत्तारुढ दल नेकपा एमाले सांसद किरणकुमार साहले नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई सफाइ दिने न्यायाधीशद्वय खुशीराम थारु र अर्जुन महर्जनमाथि तत्काल महाअभियोग प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।जिउँदै इँटाभट्टामा जलाएर मारिएको जघन्य घटनामा दोषी ठहर भएका आलमको फैसला उल्ट्याउँदै न्यायाधीशद्वय थारु र महर्जनले सफाइ दिएका थिए ।उक्त फैसलालाई राजनीतिक संरक्षणको परिणामको रूपमा व्याख्या गरिएको भन्दै उनले तत्काल महाअभियोग प्रक्रिया अघि बढ्नुपर्ने बताएका हुन् ।‘अहिले मिडिया र जनमानसमा यो निर्णयलाई राजनीतिक संरक्षणको परिणामको रूपमा व्याख्या गरिएको छ । यदि सरकार साँच्चै स्वतन्त्र न्यायपालिका चाहन्छ भने र कुनै राजनीतिक संरक्षण नभएको प्रमाणित गर्न चाहन्छ भने सो फैसला सुनाउने उच्च अदालतका न्यायाधीश खुशीराम थारु र अर्जुन महर्जनमाथि तत्काल महाअभियोग प्रक्रिया अघि बढाउनुपर्छ,’ सांसद साहले भनेका छन् ।यदि यस्तो कदम चालिँदैन भने गठबन्धन सरकारले नै आलमलाई उपहारस्वरूप सफाइ दिएको भन्ने सन्देश जाने पनि उनको भनाइ थियो ।जुन कुरा लोकतन्त्र र न्याय प्रणालीमाथिको गम्भीर अपराध भएको सांसद साहको भनाइ छ ।‘यदि यस्तो कदम चालिँदैन भने गठबन्धन सरकारले नै आलमलाई उपहारस्वरूप सफाइ दिएको भन्ने सन्देश जान्छ । यस्तो अवस्था लोकतन्त्र र न्याय प्रणालीका लागि गम्भीर अपमान हो,’ उनले भने ।त्यस्तै, राजनीतिक भागबण्डामा न्यायाधीश नियुक्ति तत्काल रोक्न पनि उनले आग्रह गरे ।





