एसपी रिपोर्टर
सर्लाही ,असार २२
: सर्लाही प्रहरीको वान्टेड सूचीमा रहेका जसपा मधेस प्रदेशका अध्यक्ष अशोक यादवले आफू नभागेको बताएका छन् ।

आज फेसबुक लाइभ गर्दै उनले सो कुराको जानकारी दिएका हुन् ।उनले आफूविरुद्ध झुटा आरोप लगाइएको भन्दै गम्भीर आपतीसमेत जनाएका छन् ।  प्रहरीले डाँका शैलीमा आफ्नो घरमा पुगेर छोरामाथि कुटपिट गरी घाइते बनाएपछि आफू छोराको उपचारमा रहेको जानकारी उनले गराएका छन् ।सञ्चारमाध्यममा आफू फरार भएको भनेर आएका समाचारको खण्डन समेत उनले गरेका छन् । ‘जनताको लागि आवाज उठाउँदा  राज्यले अपराधी ठहर गर्न खोजेको उनको आरोप छ । सोही अनुसार आफू विरुद्ध मुद्दा दर्ता गरिएको समेत नेता यादवको भनाइ छ । उनले भने, ‘मैले कुनै अपराध गरेको छैन, म त निमुखा, शोषित, पीडित र विपन्न वर्गका लागि आवाज उठाइरहेको छु । जिल्लामा भइरहेका बेथिति, भ्रष्टाचार र लुटतन्त्रविरुद्ध आवाज उठाउँदा राज्यले मलाई अपराधी ठान्छ भने म सय वटा मुद्दा खेप्न तयार छु । तर म जनताको पक्षमा बोल्न कहिल्यै रोकिने वाला छैन ।’उनले प्रहरीको कुटपिटबाट आफ्नो छोराको गर्दनको नसा च्यातिएको समेत बताएका छन् । उनले भने, ‘ममाथि अनावश्यक हिसाबले मुद्दा दर्ता गरिएको छ, त्यसबाट म डराएको छैन । म चाँडै आउँदैछु सर्लाहीमा ।’उनले सर्वसाधारणलाई आन्दोलनमा आउन आग्रह गर्दै एसपीलाई आफूले पहिले गालीगलौज नगरेको समेत प्रस्टोक्ति दिए । अनावश्यक हिसाबले मुद्दा दर्ता गरे फसाउन खोजे पनि आफू त्यसबाट डराउने मान्छे नभएको उनले चेतावनी दिए ।यादवमाथि दुई वटा मुद्दा दर्ता भएको छ । सार्वजनिक सेवामा रोकावट र राजनीतिक उपद्रो कसुर अन्तर्गतका दुई वटा मुद्दामा अदालतले उनलाई पक्राउ पुर्जी जारी गरेको हो । बिहीबार राति सर्लाहीका प्रहरी प्रमुख योगेन्द्रकुमार खड्का र अध्यक्ष यादवबिच गाली गलौज भएको अडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।