एसपी रिपोर्टर
सर्लाही, असार २२
: सर्लाहीको बागमती नगरपालिका–१२ स्थित चेकपोस्टमा प्रहरीले विशेष सूचनाका आधारमा ठुलो परिमाणमा काजु बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी निरीक्षक सुभाष यादवको नेतृत्वमा खटिएको टोलीले आइतबार बिहान करिब ११ बजे चेकजाँचका क्रममा मदनपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ग २ ख १४१८ नम्बरको मिनी ट्रक जाँच गर्दा परालको भुसभित्र लुकाई छिपाइ ल्याइराखिएको काजु फेला पारेको हो ।बरामद गरिएको काजुको तौल तथा मूल्य भने सार्वजनिक गरिएको छैन । प्रहरीले ट्रकसहित बरहथवा नगरपालिका–१३ बसबरीया घर भएका ५६ वर्षीय ट्रक चालक राजबंशी झालाई नियन्त्रणमा लिएको छ ।पक्राउ परेका चालकसहित ट्रक र काजु इलाका प्रहरी कार्यालय कर्मैयामा राखिएको छ । प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।