एसपी रिपोर्टर
जनकपुर, असार २१
: मधेस सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि आइतबारदेखि छलफल हुने भएको छ ।
आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेटमाथि छलफल गर्न आइतबार मधेस प्रदेशसभाको बैठक आह्वान गरिएको हो । आइतबार दिउँसो १ बजेका लागि मधेस प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले असार १ गते बजेट प्रस्तुत गरेपछि असार ११ गते बसेको बैठक आधा घण्टा समेत नचलि अनिश्चितकालका लागि स्थगित भएको थियो । सरकारको आग्रहमा सभामुख रामचन्द्र मण्डलले बैठक अनिश्चितकालका लागि स्थगित गरेपछि विपक्षी दलका सांसदहरुले आपत्ति जनाएका थिए ।प्रतिपक्षी दलले बजेटमा सरकारले मनपरी गरेको आरोप लगाउँदै विरोध गर्ने तयारी गरेका थिए । असार १२ गते बोलाइएको बैठक १ घण्टा अगावै बस्नुअघि अनिश्चितकालका लागि स्थगित गरेपछि विपक्षी दलहरुले त्यसपछि बस्ने प्रदेशसभाको बैठक बहिष्कार गर्ने तयारी गरेका थिए ।प्रमुख प्रतिपक्षी जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी लगायतका दलले आगामी बैठक बहिष्कार गर्ने चेतावनी दिएका थिए ।