एसपी रिपोर्टर
राजविराज, असार २१
: सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही बिरपुरमा सिटी सफारीले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ।

राजविराजबाट लोखरमतर्फ गइरहेको स १ ह ९०९ नम्बरको सिटी सफारीले शुक्रबार राति जिल्लाको विष्णुपुर गाउँपालिका–४ कन्कट्टाका ४० वर्षीय कुशेश्वर मरिकलाई ठक्कर दिएको थियो ।ठक्करबाट गम्भीर घाइते भएका मरिकलाई उपचारको लागि राति नै गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।प्रहरीले सिटी सफारी नियन्त्रणमा लिएपनि चालक भने फरार छन् । मृतकका परिवारले शनिबार सिटी चालकमाथि कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका छन् । उनीहरुले राति लाइट नै नबालि सिटी चलाइरहेका कारण दुर्घटना भएको र दुर्घटनापछि चालकलाई भगाउन प्रहरीले सघाएको आरोप लगाए ।दुर्घटनास्थलदेखि डेढ किलोमिटरकै दुरीमा प्रहरी चौकी बरही बिरपुर छ । तर, दुर्घटनाको बेलै प्रहरी पुग्दा पनि चालकलाई पक्राउ नगरेको मृतक परिवारको भनाइ छ ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी जितेन्द्रकुमार बस्नेतले सिटी चालकको खोजी कार्य भइरहेको बताए । ‘शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइसकेका छौं’ उनले भने, ‘दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’