एसपी रिपोर्टर
काठमाण्डौं , असार २१
: प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले विधेयकहरूमाथिको छलफलका लागि आवश्यक सुझाव लिन विज्ञ नियुक्ति गर्ने भएको छ ।

शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकहरुमाथिको छलफलका लागि आवश्यक सुझाव लिन विज्ञ नियुक्ति गर्ने भएको हो ।समितिमा आउन लागेको मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ र बालबालिका सम्बन्धी ऐन, २०७५ को संशोधन विधेयकमाथि वृहत छलफल गर्नुपर्ने भएकाले त्यसमा आवश्यक सुझाव लिन विज्ञ नियुक्ति गर्न उपयुक्त हुने समिति सभापति किरणकुमार साहले जानकारी दिए ।‘भोलिको दिनमा हाम्रो समितिमा आउन लागेको दुई वटा विधेयक मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ र बालबालिका सम्बन्धी ऐन, २०७५ को संशोधन विधेयकमाथि वृहत छलफल गर्नुपर्ने भएकाले र विज्ञहरुको आवश्यकता भएको कारणले विज्ञहरु नियुक्ति गर्नुपर्ने आवश्यकता देखेका छौं,’ उनले भने, ‘पारिश्रमिक बिना कसैले एक दिन, दुई दिन सहयोग गर्नसक्छ । तर हामीसँग पर्याप्त विज्ञ नियुक्ति गर्न बजेट भएकै अवस्थामा किन आर्थिक हिसाबले नै नियुक्ति नगर्ने ? दीर्घकालीन हिसाबले नै छलफल गरेर विज्ञको नियुक्ति गर्नुपर्ने देखिएको छ ।’त्यसका लागि समितिमा काशिराज दाहाल र माधव पौडेलेको नाम प्रस्ताव समेत गरिएको छ । तर समितिका सांसदहरुले नै मानव बेचबिखन नियन्त्रण र रोकथामको बारेमा दुवै विज्ञहरू ज्ञाता नभएको भन्दै अन्य विज्ञहरू नियुक्ति गर्नु उचित हुने धारणा राखे । सभापति साहले सांसदहरुसँग विज्ञहरुको नाम भए दिन आग्रह गरेका छन् ।‘काशिराज दाहाल र माधव पौडेलेको नाम आयो । समितिलाई आवश्यक पर्ने विज्ञहरु भए अरु पात्रको पनि नाम लिन सक्नुहुन्छ,’ सांसद साहले भने ।समितिले पारिश्रमिक दिएर नै समितिको लागि विज्ञ नियुक्ति गर्दा कानून झनै राम्रो निर्माण गर्न सकिने सांसदहरूको धारणा छ ।