एसपी रिपोर्टर
काठमाण्डौं , असार २० : एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू भ्रष्टाचारजन्य कार्यमा संलग्न नरहेको दाबी गरेका छन् ।पतन्जलिको जग्गा प्रकरणमा संलग्नता रहेको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतबाट ३५ लाख धरौटीमा छुटेका नेपालले आफूले कुनै भ्रष्टाचारजन्य कार्य नगरेको बताएका हुन् ।
नेपालले नबिराउनु, नडराउनु मान्यता बोकेको बताउँदै अहिले डराएर हिँड्नुपर्ने अवस्था नरहेको बताए । पार्टी केन्द्रिय कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै पनि संलग्नता नराखेकोले नडराएको बताए ।आफू सधैँ अनुशासन, नियम, विधिको पालना गर्ने, प्रक्रियालाई सम्मान गर्ने व्यक्ति भएको भन्दै नेपालले एक व्यक्तिले पनि प्रमाण पेस गरे बलिदान दिन तयार रहेको बताएका हुन् । ‘मेरो एउटा मान्यता छ नबिराउनु, नडराउनु । बिराएको छैन भने डराउनुपर्ने कुनै आवश्यकता छैन । यस धर्तीका एक जना मान्छेले पनि माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण प्रस्तुत गरोस्, जुनसुकै बलिदान गर्न म तयार हुनेछु,’ नेपालले भने, ‘म अनुचित कुराको कहिल्यै पनि पक्षमा रहन्नँ । म जहिले पनि अनुशासन, नियम, विधिको पालना गर्ने, प्रक्रियालाई सम्मान गर्ने, राम्रो संस्कृति र संस्कारमा जोड दिने, कहिले पनि बदलाको भावनाबाट नहिँड्ने सकेसम्म सबैलाई समेटेर लैजाने सोच भएको मान्छे हुँ ।’अध्यक्ष नेपालले सरकारले जनभावनालाई बुझ्न र जनचाहनाको सम्मान गर्न नसकेको पनि बताए । उनले सरकारले जनताको विश्वास पनि जित्न नसक्ने र जनचाहना बमोजिम परिणाम दिने कुनै पनि अवस्था नरहेको बताए । वर्तमान सरकार जनमुखी नभई जनविरोधी, सुशासनको नभइ कुशासनको पक्षपोषक रहेको आरोप लगाए ।‘अहिले हाम्रो देशको राजनीतिक अवस्थालाई चर्चा गर्ने हो भने सरकारले मुलुकलाई राम्रोसँग हाँक्न सकेको छैन । जनभावनालाई बुझ्न सकेको छैन । जनचाहनालाई सम्मान गर्न सकेको छैन । सही नीति अवलम्बन गर्न सकेको छैन । जनताका पीडा, वेदनालाई सम्बोधन गर्न पनि सकेको छैन,’ उनले भने, ‘त्यसो हुनाले यो सरकारले जनताको विश्वास पनि जित्न सक्दैन, जनचाहना बमोजिम परिणाम दिने कुनै पनि अवस्था छैन । यो सरकार जनमुखी होइन, जनविरोधी हो । यसको पतन अनिवार्य छ । खालि हामीले समय पर्खिनुपर्ने हुन्छ । आत्तिनुपर्ने केही आवश्यकता छैन ।’



