एसपी रिपोर्टर
काठमाण्डौं, असार २० :
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मधेशका अध्यक्ष अशोक यादव र सर्लाहीका एसपी योगेन्द्र कुमार खड्काबीच फोनमा विवाद भएको अडियो सार्वजनिक भएको छ ।

एसपीलाई फोनमा ‘को हो तिमीहरु’ भन्दै अपशब्द बोलेको समेत सार्वजनिक अडियोमा सुनिन्छ । अध्यक्ष यादवले एसपी खड्कालाई ‘तपाईं लुटेराहरु’ भन्दै गाली गरेपछि एसपी खड्काले पनि ‘कसलाई गाली गरेको’ भन्दै प्रश्न गरेको सुनिन्छ ।त्यसपछि ‘ए, एसपी ए एसपी सुन्’ भन्दै अध्यक्ष यादवले भनेको अडियोमा सुनिन्छ । अध्यक्ष यादवले एसपीलाई ‘तिमीहरु मधेशमा लुट्न आएको’ भन्दै गम्भीर आरोप लगाएको पनि सुनिन्छ ।अडियो सार्वजनिक भएपछि यसको सत्यतथ्य छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए ।‘घटना के हो ? कसरी भयो भन्ने विषयमा छानबिन गर्न मधेश प्रदेश प्रहरीलाई भनिसकेका छौं’, प्रवक्ता घिमिरेले भने ।