एसपी रिपोर्टर
काठमाणडौँ , असार १९ : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन डिपो खुलेको छ ।
नेपाल आयल निगमले ७५ करोड लागतमा विमानस्थल परिसरभित्र डिपो सञ्चालनमा ल्याएको हो ।निगमका अनुसार ५५ वर्षको इतिहासमा पहिलो पटक शतप्रतिशत स्वदेशी परामर्शदाता, स्वदेशी निर्माण व्यवसायी र आन्तरिक स्रोतबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आधुनिक सुविधा सम्पन्न हवाई इन्धन डिपो निर्माण पूरा भएको हो ।नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा आधुनिक र सुविधा सम्पन्न विमानस्थल निर्माण र सञ्चालनमा ल्याएसँगै यहाँ इन्धन डिपो स्थापना प्रक्रिया अगाडि बढेको थियो । यो विमानस्थलबाट उडान र अवतरण गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जहाजलाई आवश्यक हवाई इन्धन उपलब्ध गराउन विमानस्थल परिसरमा ९ हजार २ सय १५ वर्गमिटर क्षेत्रफलको जग्गा नागरिक उड्डयन प्राधिकरणसँग लिज सम्झौता गरी निगमले उपयोग गर्दै आएको छ ।सोही जग्गामा अहिले अत्याधुनिक प्रविधि जडित हवाई इन्धन डिपो निर्माण सम्पन्न भएको निगमले जनाएको छ । २ चैत २०७७ मा यहाँ हवाई इन्धन डिपो निर्माणका लागि सार्वजनिक खरिद ऐन अनुसार बोलपत्र आह्वान भएको थियो ।डेढ वर्षपछि २९ कात्तिक २०७९ मा बोलपत्र पेस गर्नेमध्ये सार्वजनिक खरिद ऐन प्रावधान अनुसार तोकिएको योग्यता र न्यूनतम रकम कबोल गर्ने निर्माण व्यवसायीसँग निर्माण कार्य अघि बढाउन सम्झौता भएको थियो । लगत्तै, १५ पुस २०७९ मा नागरिक उड्डयन प्राधिकरणसँग जग्गा भाडामा लिने विषयमा सम्झौता भएको थियो ।१ साउन २०८० मा निर्माण कार्य शिलान्यास भएको थियो । शिलान्यास लगत्तै निर्माण कार्यलाई निरन्तर रूपमा तीव्रता दिई हाल सम्पन्न गरिएको हो ।पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान चाप मध्यनजर गर्दै यहाँ १ हजार २ सय किलोलिटर क्षमताको ३ वटा ठूला भण्डारण गृह (कुल ३ हजार ६ सय किलोलिटर हवाई इन्धन भण्डारण गर्न मिल्ने स्टोरेज ट्यांक) निर्माण गरिएको छ । भर्टिकल स्टोरेज ट्यांकको उचाइ १२ मिटर र ब्यास पनि १२ मिटर छ ।त्यस्तै डिपो सुरक्षामा उच्च सतर्कता अपनाउन १ हजार २ सय किलोलिटर क्षमताको अलग्गै पानी ट्यांकी निर्माण सम्पन्न भएको छ । उक्त पानी ट्यांकीसँग डिपोको वरिपरि जडान गरिएको फायर फाइटिङ संरचन आबद्ध गरिएको छ ।हवाई इन्धन जस्तो अतिप्रज्वलनशील पदार्थको नियमित कारोबार हुँदा आगलागीको जोखिम हुन सक्ने कुरा मध्यनजर गर्दै ४ हजार लिटर क्षमताको ‘फोम स्टोरेज’ ट्यांकसमेत निर्माण गरिएको छ । यसलाई फायर फाइटिङ संरचनासँग आबद्ध गरिएकाले पानीको फोहोरासँगै फोम पनि मिसिएर प्रवाह हुने र तत्कालै आगलागीजन्य घटना निस्तेज पार्न सहयोग मिल्ने गरेको विश्वव्यापी अभ्यास छ ।यस डिपोमा फायर फाइटिङ प्रयोजनका लागि २३० हर्सपावर क्षमताको दुइटा फायर फाइटिङ डिजेल पम्प, १५ हर्स पावर क्षमताको एउटा जक्की पम्प र ८ इन्चको पाइप जडित छ ।भण्डारण गृहमा रहेको हवाई इन्धन पाइपका सहायताले रिफ्युलमा भर्न तथा ट्यांकरबाट ल्याइएको हवाई इन्धन भण्डारण गृहमा राख्न आवश्यक मात्रामा प्रडक्ट पम्प तथा लोडिङ/अनलोडिङमा क्रमश: १ माइक्रोन र ५ माइक्रोनका फिल्टर जडान गरिएको निगमले जनाएको छ ।यहाँ जडान गरिएको स्टोरेज ट्यांक तथा फलामका पाइप अमेरिकन पेट्रोलियम इन्स्टिच्युट (एपीआई) मापदण्डमा आधारित रहेको पनि निगमको भनाइ छ ।



