एसपी रिपोर्टर
ढल्केबर , असार १८
: धनुषाको सहिदनगर नगरपालिकाले तीन सय विपन्न परिवारका एक हजार पाँच सय जनाको स्वास्थ्य बिमा गरेको छ । नगरपालिकाको चालू आर्थिक वर्ष २०८१-८२ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत यो स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिएको हो ।

नगर प्रमुख दिनेशप्रसाद यादवले पहिलोपटक नगरस्तरमा स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको बताउनुभयो । उहाँले विपन्न तथा कमजोर आर्थिक अवस्था भएका परिवारलाई लक्षित गर्दै स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक घरपरिवारको नाममा तीन हजार पाँच सय रुपियाँका दरले बिमा गरिएको छ । कुल तीन सय घरपरिवार लाभान्वित हुने गरी करिब १० लाख ५० हजार रुपियाँको लागतमा स्वास्थ्य बिमा गरिएको हो ।नगर प्रमुख यादवले नगरपालिकाबाट पहिलोपटक सञ्चालित यस कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिइने बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य जीवन नै समृद्ध नगरको आधार हो । हामी सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन प्रतिबद्ध छौं ।” यस कार्यक्रमले नगरका निम्न आय भएका परिवारलाई स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने अपेक्षा गरिएको छ । बिमासँगै बिमाको प्रचारप्रसार तथा जनचेतना अभिवृद्धि गर्ने कार्य पनि अघि बढाइएको नगर प्रमुख यादवले बताउनुभयो ।