एसपि रिपोर्टर
चितवन ,असार १६ : पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वीनवलपरासीको दुम्कीवासमा रहेको विनय त्रिवेणी खोलामा बनेको नयाँ पुल आगामी शनिबार अगाडि नै सञ्चालन गर्ने तयारी गरिएको छ ।
सडक विस्तार आयोजना पूर्वीखण्डका सूचना अधिकारी शिव खनालका अनुसार २४५ मिटर लामो पुल मौसम राम्रो भए शनिबार अगाडि नै सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाइएको छ ।‘पानी नपरेर मौसम राम्रो भए पुल माथि पिच गरेर शनिबार अगाडि नै सञ्चालन गर्ने भन्ने हो, तर पानी परे केही दिन ढिला हुन पनि सक्छ,’ खनालले भने, ‘तर अब पुल सञ्चालनमा आउँछ, यातायात सहज हुन्छ ।’पुलको ढलान भएको चार हप्ता भन्दा बढी भएको छ । सडक आयोजनाका सूचना अधिकारी खनालले सडक विस्तारको काम गरिरहेको चिनियाँ ठेकेदार कम्पनी, परामर्शदाता र आयोजनाले यथाशीघ्र पुल सञ्चालन बारेमा निरन्तर छलफल तथा परामर्श गरिरहेको बताए ।७.५ मिटर चौडाइ भएको पुलको देब्रे भागमा फुटपाथ समेत रहेको छ । एक भारतीय ट्रकले गत २६ पुसमा पुरानो फलामे पुल भाँचिएपछि अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो ।बनाइएको डाइभर्सन पटकपटक खोलाले बगाउँदा पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध हुँदै आएको थियो । घण्टौं लामो सवारीसाधन जाम हुँदै आएको थियो । अब पुल सञ्चालनमा आएपछि कष्टकर यात्रामा सहजता आउने विश्वास आयोजनाले लिएको सूचना अधिकारी खनालले जानकारी दिए ।दाउन्ने क्षेत्रमासमेत सडक विस्तारका लागि कामका साथसाथै र बर्खामा यातायातको सहज सञ्चालनका लागि प्रयास भइरहेको आयोजनाले जनाएको छ ।



