एसपि रिपोर्टर
महोत्तरी,असार १६ :महोत्तरीमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु भएको भने एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार बर्दिवास–जलेश्वर मार्गको औरही नगरपालिका–८ टिम्कियास्थित सडकखण्डमा आइतबार साँझ टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले टिप्परको ठक्करबाट लोहरपट्टी नगरपालिका १ बगरा बस्ने १७ वर्षीय नितिश भगतको मृत्यु भएको जानकारी दिनुभयो । साथै उहाँले जनकपुर उपमहानगरपालिका ४ विश्वकर्मा चौक बस्ने ३० वर्षीय रुपेश भगत भने गम्भीर घाइते भएका बताउनुभयो ।उत्तरबाट दक्षिणतर्फ गइरहेको प्र.२–०३–००१ क १३९१ नम्बरको टिप्परले सोही दिशामा जाँदै गरेको ज ११ प ६३७३ नम्बरको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।गम्भीर घाइते भएका दुवै जनालाई तत्काल बर्दिवास अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले नितिशलाई मृत घोषणा गरेका थिए भने रुपेश भगतको उपचार बर्दिवास अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि जनकपुरको न्यूरो हस्पिटलमा रेफर गरिएको छ ।दुर्घटनापछि आक्रोशित स्थानीयवासीले करिब एक घण्टा सडक अवरुद्ध गरेका थिए । अहिले टिप्पर र चालक कमलामाई नगरपालिका १२ बस्ने सन्तलाल माझीलाई नियन्त्रणमा लिएको प्रहरी नायब निरीक्षक भट्टले जानकारी दिनुभयो ।



