एसपि रिपोर्टर
जनकपुर, असार १४
: राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा मधेस सरकारले जनकपुरधाम–ढल्केवर सडकखण्डमा वृक्षारोपण गर्दै वातावरण संरक्षणको सन्देश दिएको छ।

मधेस प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको आयोजनामा आयोजित कार्यक्रममा प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह स्वयं सहभागी भएका थिए।मुख्यमन्त्री सिंहले बढ्दो तापक्रम र वातावरणीय प्रदूषणको असरलाई न्यूनीकरण गर्न वृक्षारोपण अपरिहार्य भएको बताए। उनले भने, “मधेस सरकार वातावरण संरक्षणप्रति गम्भीर छ, त्यसैले हामीले ‘एक व्यक्ति, एक रुख’ भन्ने अभियान अघि सारेका छौं।”

उनले यस्तो अभियानलाई दीर्घकालीनरूपमा निरन्तरता दिनुपर्ने आवश्यकता पनि औँल्याए।वन तथा वातावरण मन्त्री संजयकुमार यादवले ‘हरित प्रदेश’ निर्माण गर्ने उद्देश्यसहित वृक्षारोपण कार्यक्रम अघि बढाइएको जानकारी दिए। उनका अनुसार पहिलो चरणमा जनकपुरधाम–ढल्केवर सडकखण्डमा ४ हजार ४ सय बिरुवा रोपिनेछ।मन्त्री यादवका अनुसार अभियान साप्ताहिकरूपमा सञ्चालन हुनेछ र कुल २० लाख बिरुवा रोप्ने दीर्घकालीन लक्ष्य राखिएको छ।

रोपिएका बिरुवाको संरक्षणका लागि आवश्यक जनशक्ति परिचालन गरिने योजना समेत सार्वजनिक गरिएको छ।मधेस सरकारले यस अभियानमार्फत वातावरणीय सन्तुलन कायम गर्नुका साथै जनचेतना अभिवृद्धि गर्ने अपेक्षा राखेको जनाएको छ। कार्यक्रममा विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारी, स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सक्रिय सहभागिता रहेको थियो।