एसपि रिपोर्टर
बारा, असार १४ : बारा प्रहरीले भुसमा छोपेर लैजाँदै गरेको पिक अप भ्यानबाट ठुलो परिमाणमा लागुऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।
शनिबार वीरगन्ज र बाराको सिमानामा रहेको गण्डक चोकबाट प्रहरीले २ क्विन्टल भन्दा बढी गाँजासहित चार जनालाई पक्राउ गरेको हो ।गाँजासहित पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका वडा नम्बर–४ निवासी रवि कार्की, वडा नम्बर १२ निवासी वीरबहादुर मोक्तान तथा हेटौँडा १४ निवासी साजन मोक्तान र धादिङ खाक्रे गाउँपालिका निवासी महेश तामाङ रहेका छन् । प्रहरीको विशेष टोलीले बागमती प्रदेश ३–०१–२४ च ४६३० नम्बरको पिकअपबाट २ क्विन्टल १२ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डित बताए । उनका अनुसार गाँजा तस्करी भइरहेको भन्ने सूचना बमोजिम प्रहरीले जाँच गर्दा उक्त गाँजा फेला परेको हो । प्रहरीले गाँजासहित पिक अप र बागमती प्रदेशको २–०२७ प २७०० नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।बरामद गाँजा, पिक अप, मोटरसाइकलसहित पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बाराको हिरासतमा राखिएको उनले बताए । उनीहरूमाथि लागु औषध सम्बन्धीको मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।



