एसपि रिपोर्टर
काठमाणडौँ , असार १२
: डा सीके राउत नेतृत्वको जनमत पार्टीले सचिवालय बैठक बोलाएको छ। मधेसमा सरकारको नेतृत्वकर्ता दल जनमतलाई नै बाइपास गरेर बजेट ल्याउने काम भएको भन्दै आक्रोशित उक्त पार्टीले आइतबार दिउँसो १ बजेका लागि सचिवालय बैठक बोलाएको हो ।

जनमतका प्रवक्ता डा शरदसिंह यादवले सचिवालय बैठक तय भएको र सोही बैठकले सरकारसहितका समग्र विषयमा आवश्यक छलफल र निर्णय लिने बताए ।’अहिले नै सरकार छाड्ने निर्णय भइसकेको छैन,’ उनले भने, ‘हाम्रो सचिवालय बैठक आइतबार १ बजेका लागि डाकिएको छ। डाक्टर साहब (सीके राउत) को हिजोको फेसबुक स्टाटसपछि जुन हल्ला चलेको छ, त्यो स्वाभाविक हो। जुन दलले नेतृत्व गर्‍यो, आफ्नो भिजन प्रस्तुत गर्‍यो, विकासको मोडालिटी दियो । तर आगामी बजेटबाट जनमतको सरकारमाथि जुन अपेक्षा थियो । त्यो चिज भएन ।”उनले थपे, ‘त्यो भिजनरी बजेट आउनुपर्ने थियो, तर आउन सकेन। अर्थ मन्त्रालय, भौतिक योजना मन्त्रालय जनमतसँग नहुँदा पनि मुखिया त जनमतको हो । हामीले काम गर्न सकेनौं भने त बदनामी त जनमत पार्टीको हुन्छ। त्यही चिजहरूलाई नै डाक्टर साहबले इङ्गित गर्नुभएको हो।’उनले पार्टीले जनतासँग गरेका वाचाहरू बजेटमार्फत पूरा गर्न नसके सरकारमा बसिरहनुको औचित्यमाथि प्रश्न उठ्ने बताए। उनले भने, ‘अहिले त मान्छेले गाली गरिरहेका छन्, डाक्टर साहबकै पोस्टमा ‘किन सरकारमा बसिरहेको?’ भनेर । जनताले भन्छन् नि त।’मधेस प्रदेशमा जनमत पार्टीका १३ जना प्रदेश सभा सदस्य रहेका छन् । यस्तो अवस्थामा मुख्यमन्त्री पनि जनमत पार्टीको हुनु र अपेक्षित परिणाम दिन नसक्दा पार्टीमाथि नैतिक दबाब बढेको यादवको भनाइ थियो। उनले भने, ‘गुण र दोषको आधार जे भए पनि त्यो हामीले जिम्मा लिनुपर्छ। यो चाहिँ अलिकति गम्भीर रूपमा पार्टीले लिएको छ।’ आजै जनमत मधेस प्रदेश संसदीय दलको बैठक पनि बसेको थियो । उक्त बैठकमा यसबारे सामान्य छलफल भएपनि सबै विषयको निर्णय गर्न सचिवालयलाई नै जिम्मा दिने निर्णय भएको एक नेताले बताए ।