एसपि रिपोर्टर
काठमाणडौँ , असार १२ : सुनचाँदी व्यवसायीहरूले शुक्रबार विरोध प्रदर्शन गर्ने भएका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकमार्फत सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा शुक्रबार काठमाडौँमा संयुक्त र्याली आयोजना गर्न लागिएको हो ।‘अव्यवहारिक करको विरोधमा संघ, महासंघहरुबाट संयुक्त रूपमा विभिन्न नियामक निकाय तथा उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गरी ज्ञापन पत्र बुझाउने कार्यसहित चरणबद्ध रूपमा विरोध कार्यक्रमहरू सञ्चालन गर्दै आएको सर्वविदितै छ ,’ नेपाल सुनचाँदी शिल्प व्यवसायी महासङ्घको विज्ञप्तिमा भनिएको छ, ‘यसै सन्दर्भमा, सरकार पक्षबाट व्यवसायीहरूको हक हितका विषयमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त भए तापनि, ती प्रतिबद्धताहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन थप सशक्त र व्यवस्थित ढङ्गले दबाबमूलक कार्यक्रमहरू अघि बढाउन आवश्यक देखिएकोले संयुक्त महासंघद्वारा सरकारद्वारा लागु गरिएको कर प्रणालीको विरोधमा संयुक्त बृहत् एवम् खबरदारी सभा र्याली आयोजना गरेको छ ।’



